वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकु विमान एफ–३५ बिक्री नगरिने बताएका छन्।
टर्कीले रुसबाट अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन्। ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, 'हामीले लडाकु विमान नबेच्ने जानकारी टर्कीलाई दिइसकेका छौं। हामी टर्कीलाई एफ–३५ लडाकू विमान बेच्दैनौं।'
उनले टर्कीलाई अमेरिकी प्याट्रियोट क्षेप्यास्त्र प्रणाली बेच्न ओबामा प्रशासनले अस्वीकार गरेका कारण पनि टर्कीले रुसी हतियार खरिद गरेको दोषारोपण गरे।
यसअघि अमेरिकी रक्षा मन्त्रालयले टर्कीले रुसी हवाई प्रतिरक्षा प्रणाली खरिद गर्नुमा ओबामा प्रशासन दोषी रहेको कहिल्यै बताइएको थिएन।
अमेरिकी सहायक रक्षा मन्त्री क्याटी ह्वीलबार्गरले गत साता जारी गरेको विज्ञप्तिमा अमेरिकाले टर्कीलाई प्याट्रियोट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन सहमत भएको उल्लेख छ। तर, टर्कीले अमेरिकी प्रस्तावलाई स्वीकार नगरेको पनि क्याटीले बताए।
अमेरिकी प्रस्तावित रक्षा मन्त्री मार्क एस्परले टर्कीले एस–४०० अथवा एफ–३५ मध्ये एक रोज्नुको विकल्प छैन भन्दै दुवै साधन टर्कीले प्राप्त गर्न नसक्ने जिकि गरे। उनले नेटोको सदस्य रहेको टर्कीले रुसी हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने चाहना राख्नु निकै दुःखद कुरा भएको समेत बताए।
सन् २०१७ डिसेम्बरमा टर्की र मस्कोबीच २ अर्ब ५० करोड डलर मूल्यमा एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता भएको थियो। एस–४०० रुसको हालसम्मकै अत्याधुनिक लामो दूरीको विमानभेदी क्षेप्यास्त्र प्रणाली हो।
रुसी हतियार खरिद गर्ने टर्की नेटोको पहिलो सदस्य राष्ट्र हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।