पोखरा– नेपाली सेनाका ओलम्पियन कमलबहादुर अधिकारीले राखेप च्याम्पियनसिप अन्तर्गत भएको राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन्।
राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने उद्देश्यले मैदानमा उत्रेका अधिकारीले स्वर्णमै चित्त बुझाए। ७७ केजी तौलमा उनले स्नाचमा १२० केजी उचाले। यसमा उनकै नाममा १२२ केजीको कीर्तिमान कायम छ। क्लिन एण्ड जर्कमा उनले १५३ केजीका साथ कुलमा २७३ केजी भार बहनका साथ स्वर्ण हात पारेका हुन्।
नेपाली सेनाकै यज्ञबहादुर सारुले स्नाचमा ९७ केजी र कुलमा २१२ केजी गरि रजत पाए भने क्लिनमा ११५ केजी मात्र उचाली प्रहरीका प्रेमप्रकाश भन्दा पछाडि रहदै कास्य पाए। प्रेमले क्लिनमा ११८ केजी भार बहन गर्दै रजत पाए पनि स्नाचमा ९० केजी र कुलमा २०८ केजी गरि कास्य पाए।
महिला ६३ केजी तौल समूमा नेपाली सेनाकी मनिता श्रेष्ठले कुल १४० केजी भार बहन गर्दै स्वर्ण हात पारिन्। उनले स्नाचमा ६० र क्लिन एण्ड जर्कमा ८० केजी भार बहन गरेकी थिईन्। दोश्रो स्थानमा रहेकी सेनाकै सारदा चौधरीले १२८ केजीका साथ रजत पाईन्। चौधरीले स्नाचमा ५६ र क्लिन एण्ड जर्कमा ७२ केजी उचालिन्।
महिलाकै ६९ केजीमा नेपाल प्रहरीकी राज्य लक्ष्मी थापाले स्नाचमा ६०, क्लिन एण्ड जर्कमा ८३ केजीका साथ कुल १४३ केजी भार बहनका साथ स्वण हात पारिन्। सेनाकी उष खड्काले स्नाचमा ५२ केजी, क्लिनमा ७० केजी र कुलमा १२२ केजी भार बहन गर्दै रजतमा खुम्चिइन। प्रहरीकी जानकी बुढाले ११० केजी कुल भारका साथ कास्य पाईन् । उनले स्नाचमा ४५ केजी र क्लिनमा ६५ केजी उचालिन्।
दक्षिण एशियाली खेलको लागि छनोट प्रतियोगिता समेत रहेको प्रतियोगिताको ७५ केजी तौल समूहमा नेपाल प्रहरीकी लक्ष्मी वनले १४२ केजी भार बहन गरिन्। उनले स्नाचमा ६२ र क्लिनमा ८० केजी भार बहन गर्दै स्वर्ण पदकमा आफ्नो नाम लेखाइन। सेनाकी मनकुमारी कुमालले स्नाचमा ५८ र क्लिनमा ७६ केजी गरि कुलमा १३४ केजीका साथ रजत पाइन् । सप्तरीकी शान्ति चौधरीले १२५ केजीका साथ कास्य पाईन। शान्तिले स्नाचमा ५५ र क्लिनमा ७० केजी उचालिन्। ९० केजी तौलमा एकल प्रतिस्पर्धा गरेकी नेपाल प्रहरीकी तारादेवी पुनले स्नाचमा ७०, क्लिनमा ९७ केजी गरि कुल १६७ केजीका साथ स्वर्ण हात पारिन्।
पुरुषको ६२ केजी तौलमा नेपाली सेनाका राजु चौधरीले स्नाचमा ८६ र कुलमा १९३ केजी गरि दुई स्वर्ण पाए । क्लिनमा उनी नेपाल प्रहरीका मुई लामा संग पछि परे। मुईले १०८ केज भार बहन गर्दै स्वर्ण पाए। क्लिनमा चौधरीले १०७ केजी उचाल्दै रजत पाए। स्नाचमा मुईले ८५ केजी र कुलमा १९३ केजी उचाल्दै रजत पाए। तेश्रो स्थानमा सशस्त्रका सुवाष कुमार शाहले १६३ केजीका साथ कास्य पाए। उनले स्नाचमा ७३ र क्लिनमा ९० केजी उचाले।
६९ केजी तर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीका विकास थापाले स्नाच र कुलमा स्वर्ण पाए। उनी क्लिनमा १२५ केजी भार बहन गर्दै बाँकेका प्रकाश के.सी संग पछाडी पर्दै रजतमा खुम्चिए। विकासले स्नाचमा ११२ र कुलमा २३७ केजी उचाले। प्रकाशले क्लिनमा १३० केजी उचाल्दै स्वर्ण पाए। तर प्रकाशले स्नाचमा १०६ र कुलमा २३६ केजीका साथ रजत पाए। यस्तै बाँकेका सुरज बैश्यले क्लिनमा १०५ र कुलमा १८० केजीका साथ दुई कास्य पाए। स्नाचमा कास्कीका धनबहादुर झाक्रीले ८० केजी भारका साथ कास्य पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।