काठमाडौं– निर्णायक खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोले पराजित गर्दैं सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राखेप च्याम्पियनसिप अन्तर्गत भएको महिला राष्ट्रिय फुटबल लिग जितेको छ। सुपर लिगका तीनै खेल जित्दै एपिएफ च्याम्पियन बनेको हो। यसअघि एपिएफले सुदुरपश्चिम र त्रिभुवन आर्मीलाई हराएको थियो।
बिहीबार भएको सुपर लिगको अन्तिम खेलमा एपिएफलाई जित दिलाउन सावित्रा भन्डारीले २ गोल गर्दा सरु लिम्बुले १ गोल थपिन्। ६ खेलको लिग र ३ खेल भएको सुपर लिगमा सावित्राले २९ गोल गरिन्।

बिहीबार भन्डारीले खेलको १७ मिनेटमा गोल गरेर एपिएफलाई अग्रता दिलाइन्। सरुले दुई मिनेटपछि एपिएफको अग्रा दोब्बर पारिन्। ७५ मिनेटमा सावित्राले तेस्रो गोल गरेकी थिइन्। पुलिसका लगि रुपा मगरले ३४ मिनेटमा गोल गरेकी थिइन्।
उपाधि जितेपछि एपिएफका प्रशिक्षक जनक सिंहले टिम वर्कले उपाधि जितेको प्रतिक्रिया दिए।
उपाधिसँगै एपिएफले २ लाख रुपैयाँ जित्दा दोस्रो भएको आर्मीले १ लाखमै चित्त बुझायो। तेस्रो भएको पुलिसले ६० हजार प्राप्त गर्यो।
बिहीबार नै भएको खेलमा आर्मीले सुदुरपश्चिमलाई ७–० ले हराएर दोस्रो स्थान हात पारेको हो।
एपिएफका अन्जली सुब्बा (गोलकिपर), सावित्रा भण्डारी (फरवार्ड) र जनक सिंह (प्रशिक्षक) उत्कृष्ट घोषित भए। आर्मीका दिपा राई (डिफेन्डर) र अन्जली वाइवा (मिडफिल्डर) ले पनि उत्कृष्टको अवार्ड पाए। पाँचै जनाले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।