काठमाडौं- सरकारले ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली-भिसीटिएस’ शुभारम्भ गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यका साथ कानुन बमोजिम एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रवेश गराएर मात्रै ओसारपसार गर्नुपर्ने प्रणालीको शुभारम्भ गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बुधबार एक कार्यक्रमका बीच सो प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा हुने अवैध आर्थिक कारोबार अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ सरकारले सो प्रणालीको पनि सुरुवात गर्नु परेको स्पष्ट पारे। 'यो प्रणालीबाट साना व्यवसायीलाई हुने व्यवहारिक कठिनाई हल गरेर जान सरकार प्रतिबद्ध छ,' अर्थमन्त्री डा खतिवडाले भने।
राजस्व अनुसन्धान विभागको वेबसाइटमा गएर उद्योगी/व्यवसायीले ढुवानी गर्ने वस्तु र साधनको संक्षिप्त विवरण सो प्रणालीमा इन्ट्री गराउने व्यवस्था गरिएको छ। यसो गर्दा अनौपचारिक क्षेत्रमा हुने सबै आर्थिक कारोबार पारदर्शी हुने अर्थमन्त्री खतिवडाको भनाइ छ।
यो व्यवस्था लागू भएसँगै सरकारले मालबाहक सामान चेकजाँचका लागि संचालन गरिएको सबै पोष्ट हटाइनेछ। यो प्रणालीबाट वस्तुको ढुवानी व्यवस्था सहज हुने पनि राजस्व अनुसन्धान विभागको दाबी छ।
उता व्यवसायीले भने यो व्यवस्था अनिवार्य रुपमा लागू गर्दा ढुवानी व्यवस्थापन गर्न कठिनाइ हुने भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।