कराँची- पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ।
पाकिस्तान र भारतबीच उत्पन्न तनावका कारण पाकिस्तानले भारत समेत सबै मुलुकका गैरसैनिक विमानको पाकिस्तानी आकाश हुँदै हुने उडानहरुमा प्रतिवन्ध लगाएको थियो।
पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण (सिएए)ले सबै प्रकारका गैरसैनिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र खुला गरिएको जनाएको छ।
सिएएका प्रवक्ताले भारतसँग सीमा जोडिएको पूर्वी सीमावर्ती क्षेत्रमा पनि हवाई क्षेत्र खुला गरिएको जानकारी दिए।

गत फेब्रुअरीमा भारत र पाकिस्तानका हवाई सैनिकबीच आक्रमण र प्रत्याक्रमण भएपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र विदेशी विमानका लागि प्रतिवन्ध लगाएको थियो।
पाकिस्तानले केही प्रतिवन्धहरु मार्चमै फिर्ता लिए पनि भारतसँगको तनाव मत्थर नभएका कारण पाकिस्तानको पूर्वी क्षेत्रमा यस्तो प्रतिवन्ध फुकुवा गरिएको थिएन।
पाकिस्तानको उक्त कदमका कारण भारतबाट पश्चिमी मुलुकमा हुने उडान प्रभावित भएका थिए। पाकिस्तानबाट पूर्वतर्फ हुने हवाई यात्रामा समेत पाकिस्तानी कदमबाट ठूलो असर परेको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।