काठमाडौं– आर्मी र मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिगमा आर्मीले नेपाल प्रहरीलाई ९५–७० ले पराजित गर्दै समूह विजेता बन्यो । आर्मीको जितमा रविन खत्रीले २९ अंक जोडे । प्रहरी पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो ।
समूह ‘बी’ को लिग खेलमा मध्यमाञ्चलले एपीएफ क्लबलाई ८२–७५ ले हरायो । जितसंगै मध्यमाञ्चल समूह विजेता भयो । मध्यमाञ्चलका लागि राजिव जोशीले २९ स्कोर गरे । हार बावजुद एपीएफ उपविजेताका हैसियतले सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । सेमिफाइनलमा आर्मीको भेट एपीएफसंग हुनेछ भने मध्यमाञ्चलले प्रहरीको सामना गर्नेछ ।
महिलामा पूर्वाञ्चललाई ५३–४७ ले पाखा लगाउदै पश्चिमाञ्चल सेमिफाइनलमा पुग्ने अन्तिम टिम बन्यो । समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल पुगेको पश्चिमाञ्चलको जितमा लिमा पुनले १९ अंक योगदान गरिन् । सेमिफाइनलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल मध्यमाञ्चल र आर्मीबीच हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।