काठमाडौं– कैलाली धनगढीका रमेशसिंह भण्डारी २०१७ जुलाई १७ मा मलेसिया उडे। गुड-इयर कम्पनीमा अपरेटर कामका लागि गएका उनको करार अवधि २०२० जुलाईमा मात्रै सकिन्थ्यो। तर उनलाई ३० जुन २०१९ मा नेपाल फर्काइएको छ।
‘त्यस्तो ठूलो गल्ती केही पनि गरेको थिएन,' उनले भने, 'तर, करार अवधि अगावै कम्पनीले निष्काशन गरिदियो।’
बिएम म्यानपावर ओभर्सिस प्रालिमार्फत उनी मलेसिया गएका थिए।
‘बिरामी हुँदा पनि बिदामा बस्न पाइँदैन थियो। बिदा बस्दा पनि कम्पनीले तलबबाटै पैसा काटिदिन्थ्यो,' उनले दुखेसो पोखे।
अन्य कामदारले पनि गुड-इयर कम्पनीले बिरामी बिदा नदिने र करार अवधि अगावै फर्काइदिने गरेको बताएका छन्।
किन निकालिए रमेश?
रमेश अपरेटरको काम गर्थे। एकदिन उनी कम्पनीमा ढिला पुगेका थिए। कम्पनीमा पुगिसकेपछि हरेक कामदारले पन्चिङ (इन्ट्री) गर्नुपर्छ। ढिला पुगेकाले उनले गर्नुपर्ने पन्चिङ साथीले गरिदिएका थिए।
सोही कारण कम्पनीले आफू र पन्चिङ गर्ने दुवै साथीलाई करार अवधि अगावै निकालेको रमेश बताउँछन्।
‘म एकैछिन ढिला पुगेको थिएँ, पहिलो पटकको गल्ती त्यही थियो,' उनले भने, 'सामान्य गल्तीमा माफी माग्दासमेत कम्पनीले सिधै कामबाट निकालिदियो।'
कम्पनीले भने आफूखुसी काम छाडेको भनेर लिखित निवेदन बनाई हस्ताक्षर गर्न लगाएको पीडितहरु बताउँछन्। ‘कम्पनीले थर्काएर जबजस्ती आफूखुसी कम्पनीको काम छाडेको भन्दै हस्ताक्षर गर्न लगायो, मैले पनि हस्ताक्षर गरेर नेपाल आएँ,’ रमेश सुनाउँछन्।
धनगढीका गणेश अधिकारी पनि बिएम म्यानपावरमार्फत नै प्रोडक्सन अपरेटर भनेर मलेसिया पुगेका थिए। दैनिक ८ घन्टा र हप्तामा ६ दिनको न्यूनतम तलब १ हजार रिंगिट उल्लेख गरिएको थियो।
खानबस्न सबै व्यबस्था कम्पनीले गर्ने करारनामा पत्रमा उल्लेख छ। तर उनीहरुले कम्पनीले बस्न दिए पनि खाना भने आफैं व्यवस्था गर्नुपर्थ्यो।
‘६ जना बस्ने मिल्ने कोठमा १२ जना राखिएको छ, बस्ने ठाउँ पनि अव्यवस्थित छ’ गणेशले भने। ५ वर्षसम्म सोही कम्पनीमा काम गरे पनि उनको तलब १ हजार रिंगिटबाट कहिल्यै बढेन। गुड-इयर कम्पनीमा काम गर्ने धेरै कामदारको समस्या उस्तै रहेको उनी बताउँछन्।
‘कम्पनी सुरुमा ठिकठिकै थियो, विस्तारै कामदारहरुलाई सानो गल्तीमा पनि निष्काशन गर्ने, कारबाही गर्ने गर्न थाल्यो,' उनी भन्छन्, 'जति काम गर्दै गयो सेवासुविधा बढ्दै जानुपर्नेमा कटौती गर्दै लगियो।’
धनगढीका रमेशलाई कम्पनीले कामबाट निष्काशन गरेपछि उनीसँगै कार्यरत महेन्द्र नगरका प्रकाश धामीलाई पनि सो कम्पनीमा काम गर्न मन लागेन। बिएम म्यानपावरबाटै उनी पनि दुई वर्षअघि गुड-इयर कम्पनीमै गएक थिए। उनी पनि करार अवधि अगावै रमेशसँगै नेपाल फर्किएका छन्।
‘सानो गल्ती हुँदा पनि कामबाट निकाल्छ। खानबस्न केही सुविधा राम्रो छैन,' प्रकाशले गुनासो गरे, 'तलब पनि नबढाउने भएपछि दिक्क लाग्यो। आमा बिरामी हुनुहुन्छ भन्ने बहाना बनाएर नेपाल फर्किएँ।’
श्रम अदालतमा मुद्दा
पछिल्लो समय कम्पनीका मालिकले कामदारलाई हेप्ने तथा सेवासुविधा कटौती गर्ने, बिरामी हुँदासमेत बिदा उपलब्ध गराउन आनाकानी गर्ने गरेको पीडितहरु बताउँन्। यस्तै समस्या भोग्नुपरेपछि कम्पनीलाई कारबाहीको माग गर्दै त्यहाँ कार्यरत कामदारले अन्तर्राष्ट्रिय श्रम अदालतमा मुद्दा दिएको बताएका छन्। उनीहरुले श्रमिक युनियन मलेसियामा समेत कम्पनीविरुद्ध उजुरी दिएका छन्।
गुड-इयर कम्पनीबाट पीडित १ सय ५० भन्दा बढी नेपालीको हस्ताक्षरसहित मलेसियास्थित नेपाली दूतावासमा पनि पत्र बुझाइसकेको उनीहरुले बताए। ‘दूतावासबाट भने अपेक्षा अनुसारको सहयोग पाएनौं,' पीडितहरु भन्छन्, 'सो कम्पनीमा कार्यरत कामदार धेरै समस्यामा छन्। क्षतिपूर्ति पाए सबै कामदार नेपाल आउन चाहन्छन्।’
सन् २०१६ देखि कम्पनीले कर्मचारीहरुलाई तलब लगायत सेवासुविधा दिन आनाकानी गर्दै आएको छ। गुड-इयर कम्पनी र श्रमिकबीच करारनामा पत्रमा मासिक (हप्तामा १ दिन बिदा) १ हजार मलेसियन रिंगिट तलब पाउने उल्लेख छ। तर कामदारले मासिक १ हजार रिंगिट तलब पाउन ३० दिन लगातार काममा खट्नुपर्छ।
आफ्ना समस्याबारे आफू गएको म्यानपावर कम्पनीमा जानकारी गराउँदा समेत बेवास्ता गरेको पीडितको भनाइ छ।
नेपाल लाइभले बिएम म्यानपावर ओभर्सिस प्रालिमा सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा म्यानपावर सम्पर्कमा आएको छैन।
वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईले भने मलेसियास्थित नेपाली दूतावासमार्फत गुड-इयर कम्पनीमा नेपाली कामदारको अवस्थाका बारेमा बुझ्ने र नेपाली कामदार समस्यामा भएको पाइएमा बाँकी प्रक्रिया अगाडि बढाइने बताएका छन्। ‘नेपाली कामदारले करारनामामा भएको सम्झौता अनुसार सेवासुविधा र तलब नपाएको भए अनुगमनका लागि दूतावाससँग पहल गर्छौं,' उनले भने, 'कम्पनीले दुःख नै दिएको पाइए दूतावासमार्फत सहजीकरणका लागि समन्वयको प्रक्रिया अगाडि बढ्छ।’
यसो गर्दा पनि कम्पनीले कामदारको हितमा काम नगरे सो कम्पनीमा कामदार पठाउन रोक लगाउनुपर्ने अवस्था आउन सक्ने निर्देशक गुरागाईको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।