सोल- दक्षिण कोरियामा रहेका विदेशीलाई लक्षित गरेर सञ्चालित 'पावर कल' नामक कम्पनीको ‘केमल एप’ले गलत सूचना दिएर विदेशी झुक्याएको पाइएको छ।
एयर टिकट, अन्तर्राष्ट्रिय फोन कार्ड, प्रिपेड रिचार्जलगायतका सेवा दिँदै आएको कम्पनीले विदेशी रेमिट्यान्स सेवामा ग्राहक झुक्याउने गरेको छ। कोरियाबाट रेमिट्यान्सको कार्य गर्दै आएको जिएमईसँग सहकार्य गरेको ‘केमल’ एपले नेपाली कामदारहरुलाई झुक्याउने कार्य गरेको पाइएको हो।
कम्पनीको एपमा उपलब्ध सेवाअन्तर्गत विदेशी रेमिट्यान्स सेवा उप शिर्षकमा जिएमई मनिट्रान्सफरमार्फत सेवा दिइने उल्लेख छ। ‘जिएमईमा अझै दर्ता हुनुभएको छैन भने यहाँबाट दर्ता गर्न सकिन्छ’ भन्ने उक्त मोबाइल एप्लिकेसनमा 'अप्सन' समेत राखिएको छ।
जिएमईको आधिकारिक एपमा उपलब्ध विनिमय दर र केमलमा उपलब्ध दरमा अन्तर छ। एउटै कम्पनीमार्फत सञ्चालित दुई एपमा २८ हजार १ सय १ कोरियन वनको रकमान्तर भेटिएको छ। यो समाचार तयार पार्दासम्म जिएमईको आधिकारिक एपमा १ लाख नेपाली रुपैयाँ रेमिट्यान्स गर्नका लागि १० लाख ८६ हजार ८ सय ९५ कोरियन वन आवश्यक पर्ने निर्धारण गरिएको छ।
![](https://nepallive.com/uploads/files/app.jpg)
तर, केमल एपमा भने सोही बराबरको रुपैयाँका लागि १० लाख ५८ हजार ७ सय ९४ कोरियन वन जम्मा गर्नुपर्ने उल्लेख छ।
जिएमईमार्फत नेपालमा रकम पठाउँदा 'अटो डेविट' सेवा सञ्चालन नगरेका ग्राहकले कम्पनीले नै बनाइदिएको 'ख्वाङ्जु' बैंकको खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ।
सोही एपमा देखाएको विनिमय दर हेरेर ख्वाङ्जु बैंकमा रकम जम्मा गरेर नेपाल पैसा पठाएपछि आफूलाई उक्त एपले झुक्याएको चाल पाएको बताउँछन् कोरियाको ख्यङ्जूमा कार्यरत रुपन्देहीका युवा राजकुमार चौधरी। केमलका अनुसार थोरै रकम लाग्ने देखाएर बैंकमा पुग्दा त्यस्तो नपाइएको उनले गुनासो गरे। 'थोरै रकम लाग्ने भनि बैंक पुगेको तर धेरै रकम तिर्नुपर्यो। यसमा हामीलाई झुक्याइएको रहेछ।'
यस सम्बन्धमा बुझ्दा सोही कम्पनी मातहत कार्यरत कर्मचारीले भने फरक प्रतिक्रिया दिए। जिएमईका प्रतिनिधि राजेश पौडेलले केमल एप पूर्ण तयार हुन नसकेको बताउँदै उक्त एपको बचाउ गरे।
![](https://nepallive.com/uploads/files/app%20b.jpg)
अर्कोतर्फ केमल एपका नेपाल प्रतिनिधि सुदीप श्रेष्ठसँग बुझ्दा उक्त विषय आफूलाई जानकारी नभएको भन्दै पन्छिन खोजे।
केमल एपका अर्का प्रतिनिधि कमल ढकालले कारोबार र विनिमय दरका बारेमा जिएमई नै जिम्मेवार हुने बताए।
पावर कल कम्पनीले कोरियामा रहेका १८ लाख विदेशी र ३० लाख भन्दा बढी बहुसांस्कृतिक परिवारलाई व्यापार गन्तव्य बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।