काठमाडौं– शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रपति निवासमा आयोजना गरेको नेसनल फिल्म अवार्ड अहिले नतिजा र व्यवस्थापन दुवै कारणले विवादित र आलोचित बनेको छ।
२०७४ सालका लागि ‘ब्लाइन्ड रक्स’ र ०७५ सालका लागि ‘गोपी’ले उत्कृष्ट फिल्मको अवार्ड पाएपछि अहिले फिल्मकर्मीदेखि फिल्म समीक्षकसम्म यसको विरोधमा उत्रिएका छन्। यी दुवै फिल्मले प्रदर्शनताका न राम्रो समीक्षा पाएका थिए, न दर्शकको अथाह प्रेम नै। तैपनि जुरीले उत्कृष्ट ठहर्याएपछि अहिले विवाद चुलिएको हो।
०७५ मा राम्रो समीक्षा बटुलेका दुई फिल्म ‘हरि’ र ‘बुलबुल’लाई उछिनेर ‘गोपी’ उत्कृष्ट घोषित भएपछि अहिले जुरीको निष्पक्षतामाथि नै प्रश्न उठिरहेको छ।
विवाद चर्किरहेका बेला अवार्ड विजेता फिल्म ‘गोपी’का निर्देशक दीपेन्द्र लामा स्वयंले आफ्नो फेसबुक स्टाटसमा ‘बुलबुल’ र ’हरि’ आफूलाई मन परेको फिल्म भएको उल्लेख गरेका छन्।
उनैले निर्देशन गरेको फिल्म ‘घामपानी’ ०७४ सालमा रिलिज भएको थियो। ‘गोपी’को तुलनामा ‘घामपानी’ दर्शक र समीक्षक दुवैबाट प्रशंसित थियो। तर ‘घामपानी’ले ०७४ को नतिजामा कुनै पनि विधामा अवार्ड पाएन।
‘२०७४ सालमा ’घामपानी’ले राम्रै समीक्षा पाएको थियो। ७५ मा ’गोपी’ चाहिँ त्यति प्रशंसित भएन,’ लामाले स्विकारेका छन्, ‘तर ७४ सालको नेसनल अवार्डमा ’घामपानी’ले एउटै पनि अवार्ड पाएन, ७५ मा ’गोपी’ले उत्कृष्ट फिल्म र लेखन विधामा अवार्ड पायो। ७५ मा ’बुलबुल’ र ’हरि’ मलाई मन परेका फिल्म हुन्।’

उनले थप भनेका छन्, ‘तर,अवार्डको निर्णय गर्न फरकफरक पृष्ठभूमिका पाँचजना व्यक्तित्वलाई खटाइएको हुन्छ। उहाँहरुका आफ्नोआफ्नो स्वाद, बुझाइ र आदर्श हुन्छन्। र, ती सबैको मन्थनबाट नै विजेताहरुको छनोट हुने हो। त्यसैले ७४ र ७५ दुवै सालका निर्णायकहरुका निर्णयलाई म सम्मान गर्छु। ७५ मा ’गोपी’ले उत्कृष्ट फिल्मको अवार्ड पाएकोमा भन्दा पनि ’बुलबुल’का विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड पाएकोमा म बढी खुसी छु।’
निर्देशक लामाको स्टाटस निकै कूटनितिक छ। आफूले अवार्ड पाउनुभन्दा बढी ‘बुलबुल’ले पाउनुमा उनले प्रकट गरेको खुसीलाई गहिरिएर हेर्दा ‘गोपी’ उत्कृष्ट फिल्मका लागि योग्य नरहेको उनले नै संकेत गरेका छन्।
लामाको स्टाटसमा प्रतिक्रिया दिँदै कलाकार दीपकराज गिरीले चलचित्र बुझेका गैर-चलचित्रकर्मीलाई जुरी नराखेसम्म यस्ता प्रवृत्ति नसच्चिने उल्लेख गरेका छन्।

त्यसो त फिल्म समीक्षक समाजका अध्यक्ष यज्ञशसमेत नेसनल अवार्डको यो नतिजाबाट सन्तुष्ट छैनन्।
ट्विटरमा उनले लेखेका छन्,‘नेसनल अवार्ड पाउने सबैलाई बधाई छ। खाली एउटै कुरो बुझिनँ, पोहोर ‘हरि’ भन्ने फिल्म पनि बन्याजस्तो ला’थ्यो! फिल्मको आफ्नै भाषा हुनुपर्छ भन्नेहरूले यसबारे गफ पनि निकै गरेजस्तो लाथ्यो। ’बुलबुल’सँगै ‘हरि’लाई फिल्म भाषा र प्राविधिक पक्षमा अब्बल भन्याजस्तो ला’थ्यो! हैन रै’छ क्यारे!’ (तस्बिर : मेरो फिल्म)
सम्बन्धित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।