सोल- दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनले आफ्नो कार्यकाल भरमा न्यूनतम पारिश्रमिक प्रतिघन्टा १० हजार वन (८.४८ अमेरिकी डलर) पुर्याउने प्रतिवद्धतालाई पूरा गर्न नसकेको भनी आइतबार सार्वजनिकरूपमा क्षमायाचना गरेका छन्।
राष्ट्रपति मुनले नीति निर्माणसम्बन्धी आफ्ना सेना प्रमुख किम साङ–जोमार्फत सार्वजनिक गरेको सन्देशमा उक्त कुरा बताइएको हो।
राष्ट्रपति मुनलाई उद्धृत गर्दै साङ–जोले भने, 'राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोस लागेको छ किनकि मैले दक्षिण कोरियाली जनतासँग वाचा गरेअनुसार मुलुकको न्यूनतम पारिश्रमिकको लक्ष्यलाई पूरा गर्न सम्भव भएन।'
साङ–जोले आइतबार चेओङ वा दायको न्यूनतम पारिश्रमिक निर्धारणप्रतिको जिम्मेवारीबारे पत्रकारहरूलाई जानकारी गराएका हुन्।
गत हप्ता श्रम तथा व्यापार प्रतिनिधि र विज्ञहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा भएको मतदानले अर्को वर्षदेखि लागू हुनेगरी २.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो। पछिल्लो प्रावधानअनुसार अब दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक प्रतिघन्टा ८ हजार ५ सय ९० वन कायम हुनेछ। दक्षिण कोरियाले सन् २०१९ का लागि गत वर्ष १०.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो।
यस वर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर यस दशकमा नै सबैभन्दा कम भएकोले न्यूनतम ज्याला दर प्रतिघन्टा १० हजार कोरियन वन पुर्याउने लक्ष्यसहितको नीति असफल भएको हो। राष्ट्रपति मुनको पाँच वर्षे कार्यकाल सन् २०२२ को मे महिनामा सकिनेछ।
चेओङ वा–दायका सहयोगीहरूसँग राष्ट्रपति मुनले 'मुलुकको आर्थिक, रोजगारी र बजारको ग्रहणशीलताको अवस्थालाई मध्यनजर गर्दै न्यूनतम पारिश्रमिक आयोगल कठिन निर्णय लिएको' बताएका जनाइएको छ।
मुनले मतदानबाट निर्णय लिइनु पहिले केही सम्वेदनशील विषयमा आफ्नो धारणाका वाबजूद पनि लचकता अपनाउन सकिने सङ्केत गरेका थिए। रासस/योन्हाप
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।