काठमाडौं- क्रिकेट खेलको जन्मदाता इंग्ल्यान्ड पहिलोपटक विश्चविजेता बनेको छ। आइसिसी विश्वकप क्रिकेट २०१९ को आइतबार लन्डनस्थित लर्डस् क्रिकेट मैदानमा भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै आयोजक राष्ट्र इंग्ल्यान्ड पहिलो पटक विश्व च्याम्पियन बनेको हो।
लगातार दोस्रो पटक फाइनलमा पुगेको न्युजिल्यान्ड चौथो पटक फाइनलमा पुगेको इंग्ल्याडसँग पराजित भएको हो। २०१५ को फाइनलमा पुगेर अस्ट्रेलियासँग भोगेको हार न्युजिल्यान्डका सामु यसपटक पनि दोहोरिएको हो।
निर्धारित ५० ओभरको खेल बराबरीमा टुङ्गिएपछि सुपर ओभरमा प्रवेश गरेको खेल समेत बराबरीमै टुङ्गिएको थियो। सुपर ओभरको नियमानुसार धेरै बाउन्ड्री लगाउने टीम इंग्ल्यान्ड विजेता घोषित भएको हो। सुपर ओभरमा इंग्ल्यान्डले २ चौका तथा न्युजिल्यान्डले १ छक्का प्रहार गरेको थियो।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पूरा ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ४१ रनको सामान्य योगफल जोडेको थियो। जवाफी ब्याटिङ गर्दै इंग्ल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर खेललाई बराबरीमा पुर्यायो।
झन्डै हारको नजिक पुगेको टिमलाई सुपर ओभरको बाटो देखाउन इंग्ल्यान्डका ब्याट्सम्यान बेन स्टोक्सको महत्वपूर्ण हात रह्यो। प्लेयर अफ दि म्याच समेत रहेका उनले उक्त पारीमा अविजित रही ५ चौका र २ छक्का सहित ८४ रन जोडेका थिए।
सुपर ओभरको खेलमा ६ बलमा १५ रनको योगफल तय गर्दा पनि स्टोक्सले १ चौकासहित ८ रन बनाए। उनीसँगै मैदानमा उत्रिएका जोस बटलरले १ चौकासहित ७ रन जोडे।
एक ओभरमा १६ रनको लक्षसहित मैदानमा उत्रिएको न्युजिल्यान्डले पनि ६ बलमा १५ रन नै बनायो। तर, यस पारीमा एउटा मात्रै बाउन्ड्री लगाएका कारण न्युजिल्यान्ड उपविजेतामा सीमित बन्यो।
खेलको अन्तिम बलमा न्युजिल्यान्डका मार्टिन गुप्तिललाई रन आउट गर्न इंग्ल्यान्डका फिल्डर जोनी बेरिस्टोले निर्णायक थ्रो गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।