काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीकै नीति प्रतिष्ठानले पार्टीको समानान्तर गतिविधि गरेकाले नियन्त्रण गर्न माग गरेका छन्।
नीति प्रतिष्ठान समानान्तर कार्यसमितिजस्तै बनेको उनको आरोप थियो। उनले नेतृत्वलाई सोधे, ‘एउटै पार्टीमा समानान्तर संस्था सम्भव छ?'
जारी केन्द्रीय समितिको बैठकमा नेता सिटौलाले केन्द्रीय कार्य समितिसँग समन्वय नगरी प्रदेशस्तरमा कार्यक्रम भएको भन्दै प्रतिष्ठानको विरोध गरेका हुन्।
बैठकमा कडा शैलीमा प्रस्तुत भएका सिटौलाले बिपीको विचार बन्देज लगाउन खोजिएको भन्दै आपत्ति जनाए। उनले भने, ‘सिद्धान्त र विचारमा छलफल नै गर्न नपाएपछि पार्टी कसरी प्रगतिशिल हुन्छ?'
पार्टीलाई साँघुरो घेराभित्र परिचालित गरेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरे।
नियमावलीका प्रावधानप्रति असन्तुष्टि जनाएका सिटौलाले आचारसंहिता र अनुशासनका नाममा पार्टीलाई बन्दकी बनाउन लागेको आरोप लगाए। उनले भने, ‘बिपीले जन्माएको पार्टीमा व्यक्ति यति धेरै बन्धनमा बस्न सक्दैन।’
नवसंसोधित नियमावलीले भ्रातृ संस्थालाई संकुचित बनाउने उनको ठहर थियो। शुभेच्छुक र भ्रातृ संस्थालाई एकै रुपमा परिभाषित गरिएको भन्दै आपत्ति प्रकट गरे। पार्टी सभापति देउवातर्फ कटाक्ष गर्दै उनले भने,‘के कार्यकर्ता तपाईंका अर्दली (भनेको मान्ने मात्र) हुन्?’
प्रस्तावित लेबीको प्रावधान हटाउन समेत उनले माग गरे।
‘अहिलेसम्म प्राप्त लेबीको हिसाब पारर्दर्शी छ? पहिले अहिलेको अवस्थालाई रेगुलेट गर्नुस्,’उनले भने।
पैसा पनि बढाउने रेगुलेट पनि नगर्ने परम्पराको अन्त्य गर्न माग गरे।
बाढीपीडितको उद्धारका लागि जारी बैठक स्थगित गर्न उनको सुझाव थियो।
अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर राखी जारी बैठक केही दिनका लागि स्थगित गरेर उद्धार र राहतको कार्यमा समर्पित हुने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।