धनकुटा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले देउता, राजा र जनता कोहीसँग पनि डर नभकाले मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र हाबी भएको बताएका छन्।
अभिभावकको रुपमा रहेको राजसंस्थालाई षड्यन्त्रपुर्बक पाखा लगाईएको, धर्मलाई अफिम भन्ने र भगवानको नाममा शपथ नलिने तथा जनतालाई भ्रम र लोभ लालचमा झुक्याउन सकिन्छ भन्ने मनोविज्ञान भएकाहरु मुलुकमा हाबी भएपछि मनपरितन्त्र बढेको विचार व्यक्त गरेका छन्।
राप्रपा धनकुटा जिल्ला समितिद्वारा आज आयोजित अन्तरक्रिया एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले २०६२/६३ पछिको गलत नीति र त्रुटिपूर्ण मार्गचित्रबाट मुलुक समस्याको दलदलमा भासिएको दाबी गरे। थापाले थपे, 'मुलुक जोगाउने र बनाउने हो भने गलत मार्गचित्र सच्च्याउने हिम्मत गर्नुपर्छ।'
उनको सङ्केत गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घियता तर्फ लक्षित थियो। बेरोजगार समस्या र भ्रष्टाचार मुलुकको समृद्धिको प्रमुख बाधक रहेको चर्चा गर्दै उनले मुलुकमा संस्थागत र नितिगत रुपमा भ्रष्टाचार मौलाएको भन्दै आक्रोश व्यक्त गरे।
अविरल वर्षाको कारण भएको जनधनप्रती दुख प्रकट गर्दै विपदको घडिमा सबै नेपाली एकठाउँमा उभिनु पर्नेमा जोड दिए।
सो अवसरमा राप्रपाका सस्थापक नेता तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको स्मरण गर्दै थापाले उनीबाट आफूले थापाबाट प्रेरणा प्राप्त गरेको र निकट रहेर काम गर्दा धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको प्रसङ्ग सुनाए।
थापाले विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रबेश गर्नेहरुलाई स्वागत गरे। कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य वासुदेव भट्टराई, बालानन्द भुर्तेल, प्रदेश सांसद इन्दिरा राई, अम्बिका अधिकारी र जिल्ला अध्यक्ष मुमाराम राई कुमारलामा लगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।