काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलका लागि भएको प्रतिस्पर्धामा इङ्ल्यान्ड सामु न्युजिल्यान्डले २ सय ४२ रनको टार्गेट दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २ सय ४१ रन जोडेको हो।
बेलायतको लण्डनस्थित लर्ड्स क्रिकेट मैदानमा जारी प्रतियोगितामा न्युजिल्याण्डको लागि हेनरी निकोलसले अर्धशतकीय इनिङ्स खेलेका थिए। उनले ७७ बलमा ४ चौकासहित ५५ रन बनाए।
यस्तै टम लाथम ४७ रनमा आउट भएका थिए भने कप्तान केन विलियम्सन ३० रनमा आउट भए। मार्टिन गुप्टिल र जेम्स निशमले १९/१९ रन जोड्दा कोलिन डी ग्रान्डहोमले १६ रन जोडे।
इंग्ल्याण्डका क्रिस वोक्स र लियाम प्लुन्केटले समान ३/३ विकेट लिए।
दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन्। दुवै टोलीले हालसम्म सो प्रतियोगिताको उपाधि जित्न सकेको छैनन्।
निर्धारित समयभन्दा १५ मिनेट ढिलो भएको खेल नेपाली समयअनुसार दिउँसो ३:३० मा सुरु भएको थियो।
मे ३० मा सुरु भएर आइतबार ४४औं दिनमा ४८ खेलको लामो प्रतियोगिता क्लाइमेक्समा पुग्दा आगामी चार वर्षका लागि नयाँ विश्व च्याम्पियन छानिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।