काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रम भिडियो खिच्न संचार माध्यामलाई रोक लगाएका छन्।
मन्त्री महासेठले आइतबार आफ्नै मन्त्रालयमा अवरुद्ध काठमाडौं–नुवाकोट सडक संचालनका लागि ज्ञापनपत्र बुझाउन गएका नेपाली काँग्रेस जिल्ला कार्य समिति, नुवाकोटको ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका संचारकर्मीलाई भिडियो खिच्न रोक लगाएका हुन्।
आफ्नो कार्यकक्षबाट कार्यक्रम स्थलमा प्रवेश गर्ने बित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न सचेत गराएका थिए।
‘यसरी भिडियो लिन हुन्न,’ मन्त्री महासेठले आक्रामक शैलीमा भने, ‘क्यामरा बन्द गर्नुस्, यसरी भिडियो लिन हुन्न।’
कानुनमार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ। यही बेला मन्त्री महासेठले आदेशको शैलीमा आफू सहभागी कार्यक्रमको भिडियो खिच्न रोक लगाएका थिए।
मन्त्री महासेठले संचार माध्यामहरुलाई भिडियो लिन हुन्न भने पनि त्यसको कारण भने बताउन चाहेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।