सोल- दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यदि दुई कोरियाको सम्बन्धमा सुधार हुन्छ भने आफू उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताएका छन्।
हाल कोरियाली प्रायद्वीपमा देखिएको अशान्तिको अवस्थामा सुधार भए वार्ताका लागि खुला रहेको उनको भनाइ छ।
गत वर्षमात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मुनले नयाँ वर्षका अवसरमा दिएको शुभकामना सन्देशमा पनि सम्बन्ध सुधारका लागि कोरियाली सम्मेलन (कोरिया समिट) को आयोजना गर्न सुझाव दिएका थिए।
अहिले नै दुई कोरियाको उच्च तहमा वार्ता गरी आवश्यक सम्बन्ध सुधारका साथै कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि प्रयास गर्नुपर्ने प्रस्ताव उनले गरेका छन्।
उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्ता मङ्गलबार दक्षिण कोरियामा सुरु भएको एक दिनपछि राष्ट्रपति मुनको यो धारणा आएको हो।
आपसमा विगत लामो समयदेखि नै शत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई कोरियाबीच गएको कम्तीमा पनि दुई वर्षपछि मङ्गलबार पहिलो पटक यति उच्चस्तरमा औपचारिक वार्ता सुरु भएको हो।
वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको छ।
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा प्रसंग उठे पनि त्यसमा कुनै निर्णय नभएको र उत्तर कोरियाली वार्ता प्रतिनिधिले यस विषयमा आफूहरुले कुनै निर्णय दिन नसक्ने बताएका थिए।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।