काठमाडौं– आर्यन अधिकारी नेपाली फिल्म क्षेत्रका आसलाग्दा अनुहार हुन्। ‘के म तिम्रो होइन र’ बाट नेपाली रजतपटमा पाइला टेकेका उनले त्यसपछि चार वटा फिल्ममा काम गरिसकेका छन्। उनको दोस्रो फिल्म ‘बटरफ्लाइ’ पुस २८ गते दर्शकमाझ आउँदै छ।
आर्यनलाई हिरो बन्ने रहर सानैदेखि थियो। नवलपरासीमा जन्मेहुर्केका उनी अध्ययनका लागि लन्डन र अमेरिकासम्म पुगे। फिल्म निर्देशक काका आकाश अधिकारीका कारण पनि उनलाई कलाकारितामा मोह जागेको थियो। अमेरिका पुग्दा पनि उनलाई नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्ने सपनाले छाडेन।
भन्छन्, ‘नेपाली फिल्ममा अभिनय गर्ने रहरले अमेरिकामै अभिनयका विभिन्न क्लास लिएँ।’
उनको त्यो चाहना अपेक्षित समयमा पूरा हुन सकेन। अमेरिका बसाइँका क्रममा उनी दुई पटक कार दुर्घटनामा परे। कार दुर्घटनाले आफ्नो करिअर निकै पछाडि धकेलिएको उनी बताउँछन्। भन्छन्, ‘लगातार एकपछि अर्को कार दुर्घटनामा परेँ। दुर्घटनापछि मेरो मेरुदण्डमा समस्या आयो। त्यसबाट तंग्रिएर काम सुरु गर्न खोजेको थिएँ। फेरि अर्को दुर्घटनामा परेँ।’
दुर्घटनाकै कारण उनले दुई वर्ष कुनै काम गरेनन्। उनी उक्त घटनाले आफ्नो करिअरमा निकै ठूलो धक्का लागेको उनी बताउँछन्।
पूर्णरुपमा स्वस्थ भएपछि उनी २०१५ जनवरी १ मा हिरो बन्ने बाल्यकालदेखिको सपना पूरा गर्न नेपाल आइपुगेका थिए। लगत्तै उनले ‘के म तिम्रो होइन र', ‘बटरफ्लाइ, ‘करोडपति, ‘जस्मिन, ‘बाँध मायाले गरी ५ वटा फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेका छन्।
पहिलो फिल्मले बक्स अफिसमा औसत व्यापार गर्यो। तर, उनको लुक्स र शारीरिक सुगठनको चर्चा चल्यो। यही चर्चाका कारण पहिलो फिल्मको असफलता उनको करिअरमा बाधा बनेन। उनले एकपछि अर्को फिल्म पाइरहेका छन्।
आर्यनले आफू करिअरको सुरुवाती चरणमा भएकाले मूल्यांकन गर्ने समय भइनसकेको ठानेका छन्। उद्देश्य प्राप्तिका लागि धैर्य जरुरी रहेको उनले बुझेका छन्। त्यसैले सफलता र असफलताको पछि नलागेर काममा डटिरहने उनको योजना छ।
नेपाली कलाकारहरु विदेशिने क्रम बढ्दो छ। तर, उनी कलाकार बन्न स्वदेश फर्केका हुन्। कला क्षेत्रमै आफूलाई समर्पित गर्ने बताउँछन्।
नेपाली फिल्म बजारको अवस्थाबारे उनी नकारात्मक छैनन्। उनी भन्छन्, ‘संसारमा सवै फिल्म सफल हुँदैनन्। प्रायः फिल्मले आ–आफ्नै तरिकाबाट लगानी सुरक्षित गरिरहेका छन्।’
नेपाली फिल्मको बजार बढ्दै गएकाले यसैमा आफ्नो भविष्य देखेका छन्। लगनशीलता र मिहिनेत भए स्थापित हुन र टिक्न पनि गाह्रो नभएको उनी बताउँछन्।
आफ्नो करिअरमा आगामी फिल्म ‘बटरफ्लाइ’ले अर्को इँटा थप्नेमा उनी विश्वस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।