न्युयोर्क– अमेरिकाको न्युयोर्कस्थित ट्रम्प टावरको छानामा आगलागी भएको अमेरिकी अग्नि नियन्त्रण विभागले जनाएको छ।
आगो निभाउने क्रममा १४ जना घाइते भएको विभागले जनाएको छ।
स्थानीय समय अनुसार सोमबार बिहान ७ बजे भवनमा तैनाथ गुप्तचर सेवाका सदस्यले न्युयोर्कको मिड टाउन म्यानह्याटनमा रहेको ५८ तले भवनको छानाबाट आगोको मुस्लो निस्केको देखेपछि स्थानीय अग्नि नियन्त्रण विभागमा जानकारी गराएका थिए। अग्नि नियन्त्रण अधिकारीले तत्काल आगो नियन्त्रणमा लिएको म्यानह्याटनका प्रशासन प्रमुख रोगर डब्लु साकोविचले बताए।
न्युयोर्कको फिफ्थ एभेन्युमा रहेको भवनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन जानुपूर्व परिवारका सदस्यसहित आएका थिए। टावरमा आगलागी हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टनमा थिए।
‘ट्रम्प अर्गनाइजेसन’का उपप्रमुख तथा राष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पले आगलागीबारे ट्वीटरमा लेखेका छन्, 'भवनको माथिल्लो तलामा रहेको कुलिङ टावरमा सानो विद्युतीय समस्या आएको तर अग्नि नियन्त्रण अधिकारीले आगलागी भएको केही मिनेटभित्र पुगेर यसलाई नियन्त्रणमा लिएका थिए।' उनले अग्नि नियन्त्रकलाई समयमै पुगी भवनमा थप क्षति हुनबाट जोगाएको भन्दै प्रशंसा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।