काठमाडौं- २३ पटककी ग्रान्डस्लाम विजेता अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै रोमानियाकी टेनिस खिलाडी सिमोना हालेपले विम्बलडनको महिला एकल उपाधि हात पारेकी छिन्।
यो उनको पहिलो विम्बलडन तथा दोस्रो ग्रान्डस्लाम उपाधि हो। २७ वर्षीया सिमोनाले यसअघि सन् २०१८ कफ फ्रेन्च ओपनको उपाधि जितेकी थिइन्।
सिमोनाले सेरेनामाथि सोझो सेटमा ६-२ र ६-२ को नतिजा निकालिन्। सेरेनालाई हराउन सिमोनाले मात्र ५६ मिनेट मात्र कोर्टमा खर्चिनुपरेको थियो।

जितसँगै विम्बलडनको एकल उपाधि हात पार्ने उनी पहिलो रोमानियाली खेलाडी बनेकी छिन्।
३७ वर्षीया सेरेनाले पछिल्लो एक वर्षको अवधिमा ग्रान्डस्लामको उपाधि भिडन्तमा हार व्यहोरेको यो तेस्रो पटक हो। यदि सेरेनाले शनिबारको खेलमा जित हात पारेको भए ८ विम्बलडनसहित उनको कूल २४ ग्रान्डस्लाम उपाधि हुने थियो। तर, अष्ट्रेलियाकी मारग्रेट कोर्टको यस रेकर्ड बराबरी गर्न उनले अर्को प्रतियोगितासम्म पर्खिनु पर्ने भएको छ।
पुरुष एकलतर्फको उपाधि भिडन्त आज हुँदैछ। उपाधिका लागि नोभाक जोकोभिक र रोजर फेडेरर आमनेसामने हुँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।