काठमाडौं– मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ। मध्यमाञ्चल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
मध्यमाञ्चलले लिगको आफ्नो अन्तिम खेलमा पश्चिमाञ्चललाई ६९–२० ले पराजित गर्यो। मध्यमाञ्चलकी माया स्याङतानले १२ अंक जोडिन्। मध्यमाञ्चल सेमिफाइनल पुग्ने तेश्रो टोली हो । यसअघि मध्यपश्चिमाञ्चल र आर्मी समूह ‘बी’ को क्रमशः विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगिसकेका छन्। अब पश्चिमाञ्चल र पूर्वाञ्चलको खेलबाट महिलामा सेमिफाइनल पुग्ने अन्तिम टिमको टुंगो लाग्ने छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा तीनै विभागी टोली एपीएफ, नेपाल आर्मी र नेपाल प्रहरीसहित मध्यमाञ्चलले सफलता पाए।
एपीएफले पश्चिमाञ्चललाई ८६–७६ ले हरायो । एपीएफका विजय बुर्जाले २९ अंक जोडे। सदीश प्रधानको ३१ अंक सहयोगमा आर्मीले मध्यपश्चिमाञ्चललाई १२७–६२ को फराकिलो अन्तरले पन्छायो । प्रहरीले पूर्वाञ्चलको चुनौती ९०–६६ ले समाप्त पार्यो। प्रहरीका विकास गुरुङले २८ स्कोर गरे । आर्मी र प्रहरीको लगातार दोश्रो जित हो।
सुदूरपश्चिमाञ्चल विरुद्धको खेलमा मध्यमाञ्चल ९०–६९ ले विजयी भयो मध्यमाञ्चलका विनोद श्रेष्ठले १९ अंक बटुले ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।