काठमाडौं– अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा गोविन्द केसीको समर्थनमा समाजिक सञ्जालमा धेरैले आफ्ना धारणा राखेका छन्। डा केसीको समर्थनमा नेतादेखि कलाकारसम्मले सामाजिक सञ्जालमा अभिव्यक्ति राखेका छन्। केही कलाकार भने सोमबार बिहान डा केसीको रिहाइ माग गर्दै माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा समेत पुगेका थिए।
कार्यक्रममा माइतीघर मण्डला पुगेर पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रदेखि कलाकारहरु रवीन्द्रसिंह बानियाँ, निर्मल शर्मा लगायतले डाक्टर केसीको पक्षमा ऐकबद्धता जनाए।
यस्तै, डाक्टर केसीको समर्थनमा कलाकारहरुले समाजिक सञ्जाल मार्फत अभिव्यक्ति दिइरहके छन्। दीपकराज गिरि, केदार घिमिरे ‘माग्ने बुढा’, कुमार कट्टेल ‘जिग्र्री’, निर्मल शर्मा ‘गैँडा’, कोमल वली, केकी अधिकारी, करिश्मा मानन्धर लगायत कलाकारले सामाजिक सञ्जालमार्फत डा केसीप्रति सर्मथन जनाएका हुन्।
कलाकार दीपकराज गिरीले केसीको सर्मथन गर्दै भनेका छन्, ‘देशलाई हरेक दिन खाइरहेका माफियाहरु ५ तारे होटलमा बस्छन्, देशका लागि नखाई–नखाई आवाज उठाउनेहरु जेलमा बस्छन्।...हाम्रो नेपालमा।’
कुमार कट्टेल जिग्रीले लेखेको छन्, ‘मेरो प्रिय सरकार! डा गोविन्द केसीलाई मात्र किन, मिल्छ भने धुर्मुस–सुन्तली, रवि लामिछाने, महावीर पुन, कुलमान घिसिङलाई पनि लगेर थुन्देन। कमसेकम हामी ३ करोड नेपाली जनता एकैचोटि सडकमा गएर तिमीहरु जस्ता भ्रष्ट नालायक कपूत हरुलाई मिल्काएर यो देश उहाँहरु जस्तो नेपाल आमाका सपूतहरुलाई जिम्मा लगाउन त पाउँथ्यौ। भ्रष्टाचारको अन्त ,सुशासन, पूर्ण लोकतन्त्र र विकाशका लागि अब जनताको जनआन्दोलन ३ हुनुपर्छ।’
त्यसैगरी, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले डा केसीको समर्थन गर्दै फोटो पोस्ट गरेका छन्।
त्यस्तै, अर्का कलाकार निर्मल शर्माले डा केसीको समर्थनमा माइतीघरको कार्यक्रम स्थलमै गएको फोटो पोस्ट गरेका छन्।
कलाकार कोमल वलीले टुइट गर्दै लेखेकी छिन्, ‘डा केसीले अहिंसात्मक रुपमा नराम्रोको विरोध गरे, शान्त र निर्भिक भएर हाम्रा लागि माग राखे। उनको पक्राउमा लोकतन्त्र पनि लज्जित छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।