काठमाडौं– मलेसियाले नेपाललाई १ सय २९ रनको लक्ष दिएको छ। २ खेलको टि-२० क्रिकेट शृंखलाका लागि मलेसिया पुगेको नेपाललाई आज पहिलो खेलमा मलेसियाले सो लक्ष दिएको हो।
निर्धारित २० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेटको क्षतिमा १ सय २८ रनको योगफल तयार गरेको थियो।
मलेसियाका लागि प्रारम्भिक ब्याट्सम्यान भिरनदीप सिंहले अर्धशतकीय पारी खेले। ४९ बलको सामना गरेका उनले ७ चौका र १ छक्काको मद्दतमा ५७ रन बनाए। कप्तान अहमद फैजले ४५ रन बनाएर सिंहलाई बलियो साथ दिएका थिए। यसबाहेक फित्री सामले १२ रन जोड्नुबाहेक मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मलेसियाका ४ ब्याट्सम्यान शून्य रनमा पेवेलियन फर्किएका थिए। नेपालका करण केसीले ३, सन्दीप लामिछाने र वसन्त रेग्मीले सामान २/२ विकेट हात पारे। सोमपाल कामीले एक विकेट लिए।
क्वालालम्पुरको किनरारा एकेडमी ओभल मैदानमा लक्ष पछ्याएको नेपालको पनि सुरुवात राम्रो हुन सकेन। नेपालको स्कोर २९ रन रहँदा प्रदीप ऐरी ८ रन बनाउँदै पेवेलियन फर्किए। नेपालका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले।
ज्ञानेन्द्र मल्ल (७ रन) र रोहित पौडेल (५) पनि लामो समय मैदानमा टिक्न सकेनन्। मलेसियाका अनवर रहमानले २ र फित्री सामले १ विकेट लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।