सन् २०१० मा बंगलादेशमा आयोजना भएको एघारौं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनको अघिल्लो दिन नेपाली खेलकुदका लागि कालो दिन हो। जुन दिन नेपाली जुडो टिमले लिफ्ट दुर्घटनामा परी ठूलो क्षति व्यहोर्नुपरेको थियो।
दुर्घटनामा नेपाली जुडो टिमका सबै खेलाडी परेका थिए। दुर्घटनामा स्वर्णको आशा गरिएका रमेश मगर पनि परे। दुर्घटनामा घाइते भएपछि मगर ६६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धामा उत्रन सकेनन्। जुन दिन उनको खेल थियो, त्यही दिन घुँडाको शल्यक्रिया गरिएको थियो। गलामा मेडल झुन्ड्याएर स्वदेश फर्कने लक्ष्य लिएका मगर बैशाखीको सहारामा विमानस्थलमा अवतरण गर्दा भावविह्वल बनेका थिए।
लिफ्ट दुर्घटनामा परेपछि रमेशले हिम्मत हारेनन्। दुर्घटनाको ८ महिनापछि उनी खेल जीवनमा फर्किए। दुर्घटनामा परेयता उनले आधा दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका छन्। गत वर्ष भारतमा भएको १२औं सागमा कास्य जितेर मगरले ढाका दुर्घटनाको पीडा भुलाए। ७ वर्षअघिकोे कहालीलाग्दो दुर्घटना र खेलमा फर्कन गरेको मिहिनेतबारे २९ वर्षे मगरले नेपाल लाइभका सीताराम कोइरालासँग यसरी बताए:
सन् २०१० मा बंगलादेशमा सागका दौरान भएको लिफ्ट दुर्घटना मेरो खेल जीवनको कालो दिन हो।
दुर्घटना पर्नुअघि दुई महिना भारतीय राष्ट्रिय टिमसँगै बसेर प्रशिक्षण लिएका थियौैं। भारतीय प्रतिद्वन्द्वीसँगै अभ्यासको अवसर पाएँ। अभ्यासका बेला उनलाई सजिलै हराएको थिएँ। दक्षिण एसियामा अब्बल भारतीय खेलाडीलाई अभ्यासमा हाराएकाले स्वर्ण जित्ने विश्वास पलाएको थियो। तर, प्रतिस्पर्धामा उत्रनु भन्दा एक दिनअघि लिफ्ट दुर्घटनामा परेँ।
हामी होटलबाट निस्कने क्रममा लिफ्ट दुर्घटनामा परेका थियौं । खसेको लिफ्टबाट निस्किएँ। सारासर हिँडेर कुर्सीमा बसें। अफिसियलहरुले तत्काल अस्पताल जान सुझाव दिइरहेका थिए। तर, मैले ‘गम्भीर घाइते भएका साथीलाई लैजानु, म ठीक छु’ भनें। त्यतिबेला मनमनै भगवानलाई धन्यवाद दिँदै भोलिपल्ट खेल्न सक्ने मनोबल बनाएको थिएँ।
दुर्घटना हुँदा ठोक्किएकाले घुँडामा अलिअलि दुखिरहेको थियो । साथीहरुसँगै अस्पताल जान उठें। उठ्न खोज्दा घुँडाको दुखाइ बढ्दै गयो। एक्कासी ढलेँ।
उता मेरा प्रतिस्पर्धी खेल खेलिरहेका थिए, यता मेरो अपरेसन भइरहेको थियो। नेपालबाट जानुभएका डा बुलन्द थापाले मेरो अपरेसन गर्नुभएको थियो। एक साता अस्पताल बसेपछि नेपाल फर्कियौं।
नेपाल फर्किंदाको पीडा अहिलेसम्म भुलेको छैन। गलामा स्वर्ण पदक झुन्ड्याएर फर्कने लक्ष्य लिएर उडेको थिएँ। तर, वैशाखी टेकेर फर्कंदा मन त्यसैत्यसै अमिलो भएको थियो।
काठमाडौं फर्के लगत्तै जोरपाटीको अर्थोपेडिक अस्पतालमा भर्ना भएँ। दुई महिना उपचार गरेपछि सामान्य हिँड्न सक्ने भएँ। फिजियोथेरापी र अभ्यास दिनरात गर्थें।
लिफ्ट दुर्घटनामा परेको ८ महिनापछि मात्र प्रतिस्पर्धामा उत्रन सक्ने भएको हुँ।
जीवनमा त्यो ८ महिना कहिले पनि बिर्सन सक्दिनँ। थेरापी गर्ने बेलामा प्रशिक्षण गर्न औधी मन लाग्थ्यो। तर के गर्नु, खुट्टा चलाउन सक्दिनँ थिएँ। बैशाखीको प्रयोग गरेर मन खिन्न बनाएर हिँड्नुपर्थ्यो। खेल्न नसक्के भए पनि आफू प्रशिक्षण गर्ने स्थानमा बैशाखी टेकेरै पुग्थेँ। घुँडालाई चोट नपर्ने गरी हात मात्र चलाएर भए पनि अभ्यास गर्थें।
बिस्तारै घुँडा ठीक भयो। राष्ट्रिय छनोटमा उत्कृष्ट हुँदै पाकिस्तानको इस्लामावादमा सन् २०११ मा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा सहभागिता जनाएँ। दुर्घटनापछि सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो त्यो। जहाँ मैले टिम इभेन्ट्समा स्वर्ण पदक र व्यक्तिगत स्पर्धामा कास्य पदक जितें।
जापानको ग्रान्डस्लाम र दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएँ। एसियन खेलमा ५ मिनेट म्याटमा टिकेर रेकर्ड बनाएँ। त्यो रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन।
सन् २०१० मा बनाएको लक्ष्य २०१६ मा पूरा गर्ने अवसर थियो। तर, घुँडाले साथ दिएन । लिफ्ट दुर्घटनाको असर पाकिस्तानको प्रतिस्पर्धापछि देखियो। बेलाबेलामा घुँडा सर्ने समस्याले राम्रोसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन।

दुर्घटनामै परेका बेला चिकित्सकहरुले खेल्न छाड्न सुझाव दिनुभएको थियो । तर, साग खेल्ने धोको पूरा गर्न मैले दिनरात मिहिनेत गर्न छाडिनँ। घुँडा जोगाई–जोगाई खेल्थेँ। दुर्घटनापछि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर पदक जित्न पाउँदा मनमा एक प्रकारको शान्ति मिल्थ्यो। जुडो खेल घुँडाको सपोर्टबिना खेल्न गाह्रो हुन्छ। आफ्नै जति तौल भएकालाई फाल्नुपर्ने हुन्छ। तर पनि अहिलेसम्म मिहिनेतले प्रतिस्पर्धा गरिरहेको छु।
सन् २०१६ मा भारतको गुवाहटीमा भएको साग गेम्समा सहभागी भएर ढाका सागको पीडा भुल्ने कोसिस गरेँ। तर, कास्य पदकमै चित्त बुझाउन बाध्य हुनुपर्यो। सेमिफाइनलमा अफगानी प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दा मैले जितेको खेल पनि रेफ्रीले रद्द गरिदिए। फेरि भएको सेमिफाइनलमा पराजित भएँ । त्यसपछि बंगलादेशका खेलाडीलाई पराजित गरेर सागमा कास्य जित्न सफल भएँ।
सन् २०१० को दुर्घटनाले अहिलेसम्म पनि दुःख दिइरहेको छ। फेरि घुँडाको अप्रेसन गर्दै छु । किनकि, सन् २०१९ मा नेपालमा हुने सागमा स्वर्ण जित्ने मेरो लक्ष्य छ। सुरुमा अपरेसन नगरी घुँडा बङ्ग्याएर भए पनि खेल्ने सोच बनाएको थिएँ। अपरेसन गरेपछि खेल राम्रो हुने सुझाव आएकाले फेरि घुँडाको अप्रेसन गर्न लागेको हुँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।