काठमाडौं- करीब ८ घन्टादेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेरमा सञ्चालनमा आउने भएको छ।
बिहान ११ बजेर ६ मिनेट जाँदा यति एअरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेपछि दिनभर विमानस्थलमा उडान तथा अवतरण ठप्प बनेको थियो।
चिप्लिएर घाँसे मैदान पुगेको उक्त विमान सुरक्षित रुपमा निकालेर रन-वेमा ल्याइसकिएकाले बेलुका ७ बजेदेखि विमानस्थल पुनः सञ्चालनमा आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
घाँसे मैदानमा धसिएको उक्त विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको इन्जिनियरिङ विभाग, नेपाल वायु सेवा निगमका इन्जिनियर, नेपाल आर्मी, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको प्राविधिक टोली र वायुसेवा कम्पनीका प्राविधिकहरुले करीब साढे ७ घन्टापछि सुरक्षित तवरबाट रन-वेमा ल्याएका हुन्।
अहिले उक्त विमान रन-वेबाट पार्किङ-वेमा लगिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।