काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी दुर्घटनाका मुख्य अभियुक्तलाई बचाउन नक्कली अभियुक्त खडा गर्ने प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले शुक्रबार विशेष अदालतमा सो मुद्दा दायर गरेको हो।
एक जनाको ज्यान जाने गरी पूर्वी नवलपरासीमा भएको सवारी दुर्घटनामा दोषीलाई बचाउन प्रहरी निरीक्षकले नक्कली व्यक्ति अभियुक्तको रुपमा खडा गरेका थिए।
इलाका प्रहरी कार्यालय, गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
इन्स्पेक्टर जिसीले जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटना घटाउने वास्तविक चालकलाई छोडी नक्कली सवारी चालक खडा गरी थुनामा राखेका थिए। सो घटनाका वास्तविक चालक बोधराज पाण्डे रहेकोमा उनले पाण्डेलाई जोगाउन किशुना महतोलाई नक्कली चालक बनाएका थिए।
घटनाका अनुसन्धान अधिकृत इन्स्पेक्टर जिसी, अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देवबहादुर थापा र सडक दुर्घटना प्रतिवेदन तयार पार्ने प्रहरी हवलदार बलबहादुर वलीसमेतले गलत अनुसन्धान प्रतिवेदन तयार गरेको अख्तियारको ठहर छ।
बैसाख ११ मा बोधराज पाण्डेले चलाएको बा२०च ११७९ नम्बरको जिपले ना२८प ४६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी नन्दकली शर्माको उपचारको क्रममा मृत्यु भएको थियो। सोही घटनामा आर्थिक लेनदेनका आधारमा प्रहरीले किशुना महतोलाई नक्कली चालक बनाई उनलाई हिरासतमा राखेर मुद्दा चलाएको थियो।
निरीक्षक जिसीले मोटरसाइकल चालक गम्भीर घाइते र पछाडि बस्ने महिलाको मृत्यु भएकाले चालकको पहिचान नुखल्ने भन्दै १० लाख घुस लिएर पाण्डेको साटो महतोलाई नक्कली चालक बनाएका थिए। महतोको सवारी चालक अनुमति पत्र छ भने दुर्घटनाको बेला सवारी चलाउने बोधराज लाइसेन्सविहीन थिए। लाइसेन्स समेत नभएको चालकलाई बचाउन घुस लिएर भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
घटनाका मुख्य आरोपी इन्स्पेक्टर जिसी, सई दामोदर भट्टराई, असई देवबहादुर थापा र हवलदार बलबहादुर वलीसहित गाडी चालक पाण्डे र मतियार शालिकराम पाण्डेविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।