दक्षिण कोरिया- दुई वर्षदेखि सम्पर्कसमेत हुन नसकेका उत्तर कोरिया र दक्षिण कोरियाबीच आजबाट वार्ता सुरु भएको छ।
मंगलबार बिहान १० बजे सुरु भएको वार्तामा आगामी महिना दक्षिण कोरियामा हुने शीतकालिन ओलम्पिक सफल बनाउने र दुई देशबीचको आपसी सम्बन्धका विषयमा छलफल हुने बताइएको छ।
दुई कोरियाको सीमा क्षेत्रमा रहेको पानमुञ्जेम गाउँमा सुरु भएको वार्तामा दुई देशका प्रतिनिधिहरु सहभागी छन्।
पछिल्लो समय उत्तर कोरियाले परमाणु बमहरुको परीक्षण गरेर विश्वलाई तर्साइरहेको उत्तर कोरियासँग हुन लागेको वार्तालाई महत्वका साथ हेरिएको छ।
दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले दिएको जानकारी अनुसार सो वार्ता टोलीमा दुवै देशका तर्फबाट पाँचपाँच जना सदस्य रहेका छन्। वार्ता टोलीको नाम हालै स्थापित सिधा सञ्चार सम्पर्क (हटलाइन कम्युनिकेशन) मार्फत गएको शनिबार र आइतबार पठाइएको हो।
सो वार्तामा दक्षिण कोरियाका तर्फबाट यहाँका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारी सहभागी छन्। त्यसैगरी उत्तर कोरियाको तर्फबाट त्यहाँको एक एजेन्सी, शान्तिपूर्ण पुनःएकीकरण समितिका अध्यक्ष रि सुन गाउनको नेतृत्वमा पाँच जना सदस्य रहेका छन्।
उत्तर कोरियाको वार्ता टोलीका प्रमुख रिले यो महत्वपूर्ण भएकाले यसका माध्यमबाट आगामी दिनमा द्विपक्षीय वार्ता अघि बढाउन सहज हुने अपेक्षा गरे।
वार्तामा बस्नुपूर्व दक्षिण कोरियाली वार्ता टोलीका प्रमुख मन्त्री चो ले यस वार्तामा आफूहरु बडो धैर्यपूर्वक बस्ने र आगामी शीतकालीन ओलपम्पिक खेललाई एउटा शान्तिको पर्व कसरी बनाउने भन्ने बारेमा सोचेर काम गर्ने प्रतिक्रिया दिए।
नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सम्बोधनपछि यो वार्ताको परिस्थिति निर्माण भएको हो। उनले सो सम्बोधनमार्फत दक्षिण कोरियाले गरेको उच्चस्तरीय द्विपक्षीय वार्तामा उत्तर कोरिया सहभागी हुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।