बेइजिङ- चीनको मध्य तथा पुर्वी प्रान्तमा परेको हिमपातका कारण २१ जनाको मृत्यु भएको छ।
जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्युनीकरण राष्ट्रिय आयोगले जनाएको छ।
भीषण हिमवर्षा र हिमआँधीका कारण थुप्रै घरहरु पुरिएका छन् भने कृषिबाली नष्ट भएको छ। विद्युत सेवासमेत अवरुद्ध भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन्।
उनीहरुका अनुसार शान्छी, हेनान, हुबेई, अन्हुई र जिआङसु प्रान्तहरु हिउँबाट बढी प्रभावित भएका छन्।
झन्डै ३ हजार ७ जना हिमपातका कारण विस्थापित भएका छन् भने १४ हजारजना भन्दा बढी मानिसलाई आपत्कालीन सेवाको आवश्यकता रहेको आयोगले जनाएको छ। आयोगका अनुसार झन्डै ७ सय घर ध्वस्त भएको र २८ सय घरमा क्षति पुगेको छ।
खराब मौसमले झन्डै २ लाख ३३ हजार एक सय हेक्टर क्षेत्रफलको कृषिभूमिमा असर पारेको छ। त्यसमध्ये ८ हजार एक सय हेक्टर क्षेत्रफलको बालीनाली नष्ट भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।