प्रचण्डले भारतीय पूर्व राजदूत श्यामशरणसँग भेट गरेका हुन्? आयो सचिवालयको प्रष्टोक्ति

नेपाल लाइभ | २०७६ असार २७ शुक्रबार | Friday, July 12, 2019 १२:३५:०० मा प्रकाशित

काठमाडौं– नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरणसँग भेटघाट नगरेको उनको सचिवालयले बताएको छ। उक्त प्रकारको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन्। 

उनले फेसबुकमा प्रस्टोक्ति दिँदै लेखेकी छन्, 'पूर्व राजदूत श्यामशरणसँग गोप्य भेटघाट गरेको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। कमरेड प्रचण्डका कुनै पनि कूटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय छैनन्, बरु ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुसंगको समन्वयमै भइरहेका छन्।'

हालसालै कुनै भारतीय व्यक्ति वा निकायसँग उनको त्यस प्रकारको गोप्य भेट नभएको भन्दै त्यससँग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराशययुक्त रहेको उनले बताएकी छन्।

यसबाहेक विषादी परीक्षण प्रकरणमा अध्यक्ष प्रचण्डलाई जबर्जस्ती जोडेर गरिएको प्रचारको समेत भर्त्सना गरिएको छ। 'मुलुक र जनताको हितका लागि नेपाल सरकारद्वारा गरिएको र गरिनुपर्ने यस कामबारे अध्यक्ष प्रचण्ड सचेत र स्पष्ट हुनुहुन्छ,' दाहालले भनेकी छिन्।