काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको जहाज दुर्घटना भएको छ। नेपालगन्जबाट उडको यतीको एटीआर–७२ को जहाज बर्सातका कारण धावनमार्गमा चिप्लिएको हो। सो क्रममा ३ जना यात्रु घाइते भएका छन्। उक्त दुर्घटना बिहान ११:६ बजे भएको हो।
कोटेश्वरतर्फको ०-२ बाट अवतरण गर्ने क्रममा रन-वेबाट चिप्लिएर उक्त जहाज घाँसेचौरको १५ मिटर पर पुगेको छ।
जहाजमा चालक दलका ४ र यात्रु ६६ गरी ७० जना थिए। घाइतेहरुको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।
धावनमार्ग सुचारु गराउन उक्त जहाजलाई सुरक्षित स्थानमा लैजानुपर्ने भएकाले विमानस्थल सञ्चालनमा समय लाग्ने विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए। 'चिप्लिएको जहाजलाई त्यहाँबाट सुरक्षित झिक्नुपर्छ,' उनले भने, 'प्राविधिक कुरा भएकाले तत्काल विमानस्थल सञ्चालनमा आउन सक्दैन।'
अहिले विमानस्थलको उडान र अवतरण पूर्ण रुपमा ठप्प भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।