धनगढी- थ्रीस्टार सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा झापा ११ लाई ३–१ गोलले पराजित गर्दै थ्रीस्टार प्रतियोगिताको अन्तिम आठमा पुगेको हो।
योसँगै पछिल्लो १४ महिना फुटबलबाट टाढा रहेको थ्रीस्टारले उत्कृष्ट पुनरागमन गरेको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)को कारण एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि थ्रीस्टारले क्षतिपुर्ति नपाएसम्म फुटबल नखेल्ने घोषणा गरेको थियो। जसको कारण थ्री स्टारले १४ महिना कुनैपनि अफिसियल प्रतियोगितामा सहभागिता जनाएन।
थ्रीस्टारले सन् २०१६ को नोभेम्बरपछि पहिलो पटक खेल खेलेको हो। थ्रीस्टारले भारतको गुवाहाटीमा सम्पन्न ६४ औं भारत रत्न बोर्डोलोइ ट्रफी जितेपछि कुनै खेल खेलेको थिएन ।
थ्रीस्टारलाई जित दिलाउन बुद्ध चेम्जोङले दुई तथा मार्टीनले एक गोल गरे। झापाका कर्ण लिम्बुले एक गोल फर्काए। खेलको चारै गोल पहिलो हाफमा भएको थियो । अब थ्री स्टारले क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको ३४ औं मिनेटमा मार्टीनले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाए । ३९ औं मिनेटमा बुद्धले गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर बनाए । खेलको ४१ औं मिनेटमा झापाका कर्ण लिम्बुले एक गोल गर्दै खेल २ – १ मा ल्याए । तर, खेलको ४३ औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा ३ – १ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन् सकेन र खेल थ्री स्टारले ३ – १ ले आफ्नो बनायो ।
प्रतियोगिता अन्तर्गत मंगलबार भुटानको डुक स्टार र अग्नि रुपन्देही ११ बीच खेल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।