एजेन्सी- अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड घरेलु मैदानमा जारी १२औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। साविकको विजेता अस्ट्रेलिय यस पल्ट सेमिफाइनलबाटै बाहिरिएको हो।
बर्मिघममा बिहिबार भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्ड फाइनल प्रवेश गरेको हो।
अब इंग्ल्याण्डले उपाधिका लागि न्युजिल्याण्डसँग खेल्नेछ। न्युजिल्याण्ड भारतलाई पराजित गर्दै यसअघि नै फाइनल पुगिसकेको छ।
अष्ट्रेलियाले दिएको २ सय २४ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
इंग्ल्याण्डको जासन रोयले सर्वाधिक ८५ रनको ल्याएका थिए। यस्तै जोय रुटले अविजित ४९ रन तथा कप्तान इयान मोर्गनले अविजित ४५ रन बनाए। अष्ट्रेलियाका मिचेल स्टार्क र पाट कुमिन्सले १/१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २ सय २३ रन बनाएको थियो।
अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रन बटुलेका थिए। अष्ट्रेलियाले मात्र १५ रन जोड्दा ३ विकेट गुमाएको थियो। तर, पूर्व कप्तान स्मिथले चौथो विकेटका लागि एलेक्स केरीसँग १०३ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए। केरी ४६ रनमा आउट भए।
यस्तै अष्ट्रेलियाका मिचेल स्टार्कले २९ र ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
अष्ट्रेलियालाई सस्तैमा समेट्न इंग्ल्याण्डका क्रिस वोक्स र आदील रशिदले समान ३/३ विकेट हात पारे। जोफ्रा आर्चरले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।