काठमाडौं– सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले फेसबुकमा राष्ट्रवाद सकियो भन्नुभन्दा गमलामा खुर्सानी रोप्न सुझाव दिएका छन्।
मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा नेपालमा आयात हुने तरकारीको विषादी परीक्षणका विषयमा उठेको प्रश्नको जवाफ दिँदै बाँस्कोटाले विषादी परीक्षण कुनै देशप्रति लक्षित नभएको उनले बताए।
'हामी आत्मनिर्भर अर्थतन्त्रको कुरा गरिरहेका छौं भने यो कुन राष्ट्रवाद भनेर दौडिरहनुभन्दा नेपालको उत्पादन र उत्पादकत्व वृद्धि गरौं। गमलामा भए पनि एउटा खुर्सानीको बोट रोपौं भनेर अभियान चलाऔं न। फेसबुकमा राष्ट्रवाद सिद्धियो, रह्यो, लम्पसार भो, के भो, कसो भो भन्नुभन्दा, त्यो गर्नु राम्रो हो नि त,' उनले भने।
उनले गमलामा खुर्सानी रोप्ने विषयमा अरुलाई पनि साक्षर बनाउन आग्रह गरे।
'त्यसैले सरकारले यस वर्ष पाँच करोड बिरुवा रोप्ने भनेको छ। जहाँ जस्तो फलफूल हुन्छ त्यहाँ त्यस्तै खालको बिरुवा लगाउने भनिएको छ', बाँस्कोटाले भने।
उनले नेपालमा आयात हुने तरकारीमा विषादीको मात्रा निरन्तर कम हुँदै गएको भन्दै तथ्यांक प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।