प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न– लगाम उपहार पठाऊँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री?

नेपाल लाइभ | २०७६ असार २६ बिहीबार | Thursday, July 11, 2019 १८:०५:०० मा प्रकाशित

काठमाडौं– सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसलाई आरोप लगाएको एक घण्टा पनि वित्न नपाउँदै प्रमुख प्रतिपक्ष कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रतिवाद गरेका छन्।

सामाजिक सञ्जालमा मार्फत प्रवक्ता शर्माले सरकारका मन्त्रीको बोलीमा लगाम लगाउन चेतावनी दिएका छन्। शर्मा लेख्छन्, ‘प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ। संसदमा तब कुनै फोटोकपी मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु?’

बाँस्कोटाको बोलीलाई अराजनीति अभिव्यक्तिको संज्ञा दिएका छन्। शर्माले अराजनीतिक बोलीको जवाफ दिँदै हिँड्नु उचित नहुने तर्क राखेका छन्। उनी लेख्छन्, ‘हलेदो भनेर चिनिसकेपछि धेरै कोट्याउनु हुन्न।’

मन्त्रीको बोली अमार्यादित रहेको औंल्याउँदै शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्छन्, ‘प्रधानमन्त्री लगाम उपहार पठाऊँ कि सम्हाल्नु हुन्छ,आफ्ना मन्त्री?

बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई 'दिनभरि बिपी र रातभर विप्लव हो?’ भन्दै प्रश्न गरेका थिए।