काठमाडौं– प्रधानमन्त्रीले आफूलाई पटकपटक झुक्याइने गरेको भनेर दिएको अभिव्यक्तिप्रति सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बचाउ गरेका छन्। उनले त्यसरी झुक्किनुमा प्रधानमन्त्रीको दोष नभएको बताए।
'कसैले झुक्याउँछ भने प्रधानमन्त्रीको दोष हुन्छ र? रिपोर्टिङ गर्नेले कसरी गरे, त्यसबाट हामीले सिक्ने हो। लगेर रुखमा झुन्ड्याउन मिल्दैन क्यारे। राणा शासन होइन', बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने।
प्रधानमन्त्रीलाई सबै कुरा थाहा नहुन पनि सक्ने र रिपोर्टिङ अनुसार बोल्ने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याएको अभिव्यक्ति दिएका थिए। यसअघि चिनी प्रकरण र मेलम्ची आयोजनाका विषयमा पनि सम्बन्धित मन्त्रालयबाट झुक्किएको बताएका थिए।
विवादित विषादी प्रकरण बारे बोल्दै बाँस्कोटाले भने, ‘भारतबाट आउने सबै विषादीयुक्त होइनन्। अनुचित दबाबले विषादी परीक्षण रोकिएको होइन,’ उनले थपे, ‘यसलाई मसला बनाउन पर्ने कारण छैन। पूर्वाधार बनाउन त पर्यो नि।’
आइफा अवार्डले सरकारले घाटाको व्यापार नगर्ने दाबी गरे। उनले भने, ‘उसको प्रस्ताव सुनियो। हाम्रो प्रस्ताव कहीँ आयो? चेक एण्ड व्यालेन्स हाम्रो पत्रकारितामा आयो?’
आइफा गर्नै नहुने जस्तै गरी प्रचार भएको प्रति आपत्ति जनाउँदै उनले भने, ‘आइफा त बडा राष्ट्रवादी बनेर गर्न हुँदैन भनियो,गर्न के हुन्छ त? बाफ्रे हाम्रो डेमोक्रेसी?’ सरकारका निर्णय प्रक्रिया तथा पार्टीसँग समन्वयमा नभई पार्टीभित्रबाटै सरकारलाई असहयोग गरिएको प्रश्नमा सत्यता नरहेको बताए।
उपनिर्वाचनका लागि सरकार र निर्वाचन आयोगको छलफल भएरहेको जनाउँदै भने,‘साउने झरीमा उपनिर्वाचन कसरी गर्नु र?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।