केप टाउन– दक्षिण अफ्रिका विरुद्धको पहिलो टेस्टमा भारतले २ सय ८ रनको लक्ष्य पाएको छ। चौथो दिन घरेलु टिम दक्षिण अफ्रिका दोस्रो इनिङमा १ सय ३० रनमै अलआउट भएपछि भारतले लक्ष्य पाएको हो।
दोस्रो इनिङमा दक्षिण अफ्रिकाको इनिङ ध्वस्त पार्न जसप्रित बुमराह र मोहमद सामीले ३–३ विकेट लिए। भुवनेश्वर कुमार र हार्दिक पाण्ड्याले २–२ विकेट हात पारे। पाण्डयाले दक्षिण अफ्रिकाका ओपनरद्वय एइडेन मकरम (३४ रन) र डिन एलगर (२५ रन) रनमा आउट गरे। सामीले कागिसो राबाडालाई ५ रन र हसिम अम्लालाई ४ रन बनाएर खेलिरहदा सिकार बनाए। एबी डिभिलियर्स ३५ रन बनाए खेलिरहदा जसप्रित बुमराहको बलमा भुवनेश्वर कुमारबाट समातिए। लगत्तै बुमराहले कप्तान फाप डुल फ्लेसिसलाई शून्य र क्वान्टन डेक ककलाई ८ रनमा आफ्नो सिकार बनाए।
यसअघि पहिलो इनिङमा भ्रमणकारी टिम भारत ७७ रनले पछि परेको थियो। भारत पहिलो इनिङमा २ सय ९ रनमा अलआउट भयो। घरेलु टिम दक्षिण अफ्रिकाले पहिलो इनिङमा २ सय ८६ रन जोडेको थियो।
भारतका मध्यक्रमका ब्याट्सम्यान हार्दिक पाण्ड्या शतक बनाउन चुके। पाण्ड्या ९३ रनमा आउट भए। नवौं विकेटको रुपमा आउट हुनुअघि उनले ९५ बल खेलेर १४ चौका र १ छक्का प्रहार गरे। भुवनेश्वर कुमारले २५ रन जोड्दा चेतेश्वर पुजाराले २६ र शिखर धवनले १६ रन बटुले। ओपनर मुरली विजय १ रन, कप्तान विराट कोहली ५ रन, रोहित शर्मा ११ रन र रविचन्द्र आस्विन १२ रनमै आउट भए। बलिङतर्फ दक्षिण अफ्रिकाका भेर्नोन फिलान्डर र कागिसो राबाडाले ३–३ विकेट लिए। मोर्ने मोर्केल र डेल स्टेनले २–२ विकेट हात पारे।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि पहिलो इनिङमा एबी डिभिलियर्सले सबैभन्दा बढी ६५ रनको योगदान गरेका थिए। जसप्रित बुमराहबाट बोल्ड हुनुअघि उनले ८४ बल खेलेर ११ चौका प्रहार गरे। कप्तान फाप डु फ्लेसिसले ६२ रनको योगदान गरे। क्वान्टन डेकले ४३ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।