काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले संघीय संसदको विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको कार्यशैलीप्रति गम्भीर असहमति जनाएका छन्।
समितिका सदस्यसमेत रहेका सांसद देवले प्रतिपक्ष दलका सांसदसँग परामर्शसमेत नगरी बैठकको एजेन्डा तय गर्ने काम भइरहेको भन्दै सभापति गुरुङको कार्यशैलीप्रति असहमति जनाएका हुन्।
समितिको बुधबारको बैठकमा ‘संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक’माथिको छलफलमा भाग लिँदै उनले आफ्नो दलसँग परामर्शसमेत नगरी विज्ञहरु छनोट गरेर सभापति एक्लैले बैठक बोलाउने गरेकोमा आपत्ति जनाउँदै त्यसलाई आफ्नो दलले स्विकार गर्न नसक्ने स्पष्ट पारे।
कांग्रेस सांसद देवले समितिको बैठक बोलाउनुअघि एजेन्डा तय गर्ने विषयमा विपक्ष दलका सांसदहरुको पनि परामर्श लिन सभापति गुरुङसँग माग पनि गरे। समितिका सभापति गुरुङले दलीय सहमतिको आधारमा समितिको बैठक सञ्चालन गर्नुपर्ने उनको तर्क छ।
सांसद देवले समितिको बैठकमा सहभागी गराउने विज्ञहरुको छनोटमा समेत सभापति गुरुङले आफूहरुसँग सामान्य परामर्श नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।