न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश, भारत बाहिरियो

नेपाल लाइभ | २०७६ असार २५ बुधबार | Wednesday, July 10, 2019 १९:४२:०० मा प्रकाशित

काठमाडौं– इंग्ल्यान्डमा जारी १२औं विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनल खेलमा भारतलाई १८ रनले पछि पार्दै न्युजिल्यान्डले जित हात पारेको छ।

२ सय ४० रनको लक्ष्य पछ्याएको भारत २ सय २१ रनमा अलआउट भयो। यससँगै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

सुरुवातदेखि नै खराब प्रदर्शन गरेको भारतले मध्यक्रममा केही सम्हालिने कोशिष गरेको थियो।

भारतका लागि रविन्द्र जेडेजाले ५९ बलमा ७७ रन बनाए। यस क्रममा उनले ४ चौका र ४ छक्का हिर्काए। त्यस्तै, महेन्द्र सिंह धोनीले ७२ बलमा ५० रनको योगदान दिए। उनले १ चौका र एक छक्का हिर्काए। यी दुवै ब्याट्सम्यान पेवेलियन फर्किएपछि वितको संघारमा रहेको भारत पराजित भएको हो।

रिसभ पन्त र हार्दिक पान्ड्याले समान ३२ रन बनाए। टोलीको स्कोर ५ रन हुँदा ३ ब्याटसम्यान रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुललाई भारतले गुमाएको थियो। उनीहरू समान १/१ रनमा आउट भए।

न्युजिल्यान्डका लागि म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले २/२ विकेट लिए।

यसअघि न्युजिल्यान्डले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको थियो। न्युजिल्यान्डका लागि रोस टेलरले ७४ रन बनाए। त्यसैगरी कप्तान विलियम्सनले ६७ जोडे।

टेलरले ९० बल खेल्दै ३ चौका र एक छक्का हिर्काएका थिए भने विलियम्सनले ६ चौका हिर्काए। त्यस्तै, हेनरी निकोलासले २८ रन बनाए।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार बिर्मिंघममा साविक विजेता अष्ट्रेलिया र आयोजक इंग्लान्ड भिड्नेछन्।