सिड्नी– एसेज सिरिज अस्ट्रेलियाले ४–० ले जितेको छ। अन्तिम तथा पाँचौ टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई इनिङ र १ सय २३ रनले पराजित गर्दै सिरिजमा सानदार जित हात पारेको हो।
दोस्रो इनिङमा इंग्ल्यान्ड १ सय ८० रनमै अलआउट भएपछि सिरिज अस्ट्रेलियाले कब्जा गरेको हो। इंग्ल्यान्डलाई रोक्न अस्ट्रेलियाका लागि पाट कमिङ्ग्सले ४ विकेट लिए।
इंग्ल्यान्डका लागि कप्तान जोए रुट ५८ रनमा रिटायर्ड हर्ट हुँदै मैदान छाडेका थिए। इंग्ल्यान्डका अलास्टयर कुकले १० रन जोड्दा मार्क स्टोनम्यान शून्य रनमा आउट भए। जेस्स भिन्सले १८ र डविड मालन ५ रनमा पेभेलियन फर्के।
पहिलो इनिङमा इंग्ल्यान्ड ३ सय ४६ रनमा अलआउट हुँदा अस्ट्रेलियाले ७ विकेटको क्षतिमा ६ सय ४९ रन जोडेर इनिङ समाप्तीको घोषणा गरेको थियो। अस्ट्रेलियाका लागि तीन ब्याट्सम्यानले शतक प्रहार गरे। तेस्रो दिन उस्मान खवाजाले शतक प्रहार गरेका थिए। उनले १ सय ७१ रन जोडे। चौथौ दिन मिचेल र साउन मार्स दाजुभाइले शतक प्रहार गरे। साउनले १ सय ५६ रन जोडे। मिचेलले १ सय १ रनको योगदान दिए। बलिङतर्फ इंग्ल्यान्डका मोइन अलीले २ विकेट लिए।
इंग्ल्यान्डका लागि जोए रुटले ८३ र डविड मालनले ६२ रनको योगदान दिएका थिए। बलिङतर्फ पाट कमिङग्सले ४ विकेट लिँदा मिचेल मार्स र जोस हजलउडले २–२ विकेट हात पारे।
कमिङग्स खेलको म्यान अफ दि म्याच हुँदा कप्तान स्टेभिन स्मिथ म्यान अफ दि सिरिज घोषित भए।
यसअघि लगातार तीन टेस्टमा जित निकालेको अस्ट्रेलियाले सिरिज यसअघि नै कब्जा गरिसकेको थियो। चौथो खेलमा बराबरीमा सकिएकाले अस्ट्रेलियाले क्लिनसिप गर्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।