काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् सरकारको छाँयाको रुपमा सीमिति हुँदै गएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदका सभामुखले पनि स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुसरण गरेको टिप्पणी उनले गरे। उनले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए।
'एक पटक फेरि नेपालको संसद नेपालको सरकारको छाँयाको रुपमा सीमिति रहेको छ। सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नुभएको छैन,' उनले भने, 'संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ। यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ।'
जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा सहयोग नरहने उनले बताए।
मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनपछि पछि हटेको दाबी सांसद थापाले गरे।
'संसदीय छानबिन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरले हामी तयार छैनौं भन्नुभयो। कानुनमन्त्रीले तयार छैन भनेपछि उहाँहरुले जे कुरा भन्नुभो सभामुखले त्यही कुरा मान्नुभयो। कम्तिमा हामी एकजना सांसदले कुरा राख्छौं भन्दा कुरा समेत पनि राख्न दिइएन,' उनले भने।
'आफै पोजेटिभ भएको छानबिन समिति बनाउन तयार हुनुहुन्न भनेपछि यो संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैले संसद चलाइरहेको छ?' उनले प्रश्न गरे।
कांग्रेस र राजपाका सांसदले सर्लाहीका दुई घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर उभिइरहेकै बेला सभामुखले बैठकको कार्यसूची अगाडि बढाएपछि सांसदहरुले आज रोष्टम घेराउ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।