काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री अग्नि सापकोटा सहितका नेकपा नेताविरुद्धको मुद्दामा सर्वोच्च अदालतले सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहेको उजुरीको फाइल मगाउने आदेश दिएको छ।
बुधबारबाट सुनुवाइ सुरु भएको प्रधानन्यायाधीश सहित ५ जनाको संवैधानिक इजलासले यस्तो आदेश गरेको हो।
२०७२ चैतमा संवैधानिक इजलासमा यो मुद्दा आएको थियो।
सापकोटा र पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङ लगायतका नेताविरुद्ध काभ्रेकी पुर्णिमाया लामाले रिट दायर गरेकी थिइन्।
२०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासले सुनुवाइ गरी फैसला गर्न पठाएको थियो। उक्त आदेशपछि पटकपटक मुद्दाको पेशी सर्दै आएको थियो।
संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएको सहित तीन थान मुद्दा रहेका छन्।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अनुसन्धान हुनुपर्ने लामाकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ।
तत्कालीन नेकपा माओवादीका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रहेका सापकोटा ‘हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकिर गर्दै २०६८ असार ६ गते कनकमणि दीक्षित सहितले अवहेलना मुद्दा दायर गरेका थिए। यो सापकोटा विरुद्धको पहिलो अवहेलना मुद्दा थियो। लगत्तै पुर्णिमायाले रिट निवेदन दायर गरेकी थिइन्।
२०६९ मंसिर ११ गते न्यायाधीश वैधनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि उक्त मुद्दामा सुनुवाइ हुन सकेको छैन।
यसअघि सर्वोच्चले लामा हत्या प्रकरणमा १५/१५ दिनमा प्रतिवेदन बुझाउने आदेश जारी गरेको थियो। सर्वोच्चको उक्त आदेशपछि काभ्रे प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ सर्वोच्च अदालतलाई दिँदै आएको छ।
सर्वोच्चले काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न भएर/नभएको अनुसन्धान गर्न र संलग्न भएको भए पक्राउ गर्न २०६८ असार ६ गते आदेश दिएको थियो।
काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका लामालाई माओवादी सेनाले २०६२ बैसाख १६ गते अपहरण गरेको थियो। त्यसको दुई महिनापछि असार दोस्रो साता बुढाखानी गाविसस्थित चारकिल्लामा गाडेको अवस्थामा उनको शव फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।