बार्सिलोना– अर्जेन्टाइन फरवार्ड मेसीले बार्सिलोनाका लागि ४ सयौं खेल पूरा गरेका छन्। आइतबार राति लेभान्तेविरुद्ध मैदान उत्रदैं मेसीले बार्सिलोनाका लागि ४ सय खेलको कोसेढुंगा पार गरेका हुन्।
खेलमा बार्सिलोनाले ३–० को जित निकाल्न सफल भयो। मेसीले ४ सयौं खेल खेल्दा १२ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। उनले ला लिगामा ३ सय ६५ औं गोल गरेका हुन्।
बार्सिलोनाका लागि थप गोल लुइस सुआरेजले ३८ र पाउलिन्होले दोस्रो हाफको इन्जुरी टाइममा गरे।
यता साविक विजेता रियल म्याड्रिडलाई सेल्टा भिगोले २–२ गोलको बराबरीमा रोकेको छ। खेलको ३३ मिनेटमा वासले गोल गरेर सेल्टा भिगोलाई अग्रता दिलाएका थिए। तर रियलका गारेथ बेलले ३६ र ३८ मिनेटमा गोल गर्दै अग्रता दिलाए। ८२ मिनेटमा सेल्टा भिगोका लागि गोमेज गोन्जालेजले बराबरी गोल फर्काएका थिए।
ला लिगामा १८ खेलबाट ४८ अंक जोड्दै बार्सिलोना शीर्ष स्थानमा छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३९ र तेस्रो स्थानको भ्यालेन्सियाको ३७ अंक छ। एक खेल कम खेलेको रियल बार्सिलोना भन्दा १६ अंकले पछि छ। चौथो स्थानको रियलको १७ खेलबाट ३२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।