काठमाडौ- स्थापनाको रजत महोत्सव मनाउँदै गरेको सांगीतिक ब्यान्ड नेपथ्यले मुलुकका तीन सहरमा सांगीतिक यात्रा गर्नेभएको छ। केही समयअघि मात्र काठमाडौं, पोखरा र बुटवलका दर्शकसामु प्रस्तुत भइसकेको ब्यान्डले आफ्नो स्थापनाको २५औं वर्षको अवसर पारेर अन्य तीन सहरका संगीतप्रेमीमाझ पुग्ने योजना बनाएको हो।
पुस २८ मा झापाको दमकबाट सुरु हुने यो यात्रा माघ १ मा नारायणघाटहुँदै माघ ४ गते भैरहवा पुग्नेछ।
मुलुकको पूर्वी, मध्य र पश्चिम भागको प्रतिनिधित्व गर्ने यी सहरको यात्राका लागि ब्यान्डले नयाँ पुराना गीतहरुको अभ्यास सुरु गरिसकेको छ।
यात्रा अन्तर्गत पहिलो सो दमकको सरस्वती माध्यमिक विद्यालयमा आयोजना हुनेछ। स्थानीय ‘थ्रिइन्क भिजन’, जय मिडिया र पूर्वाञ्चल रक्सले आयोजना गर्ने कार्यक्रम बेलुकी साढे ५ बजेदेखि सुरुहुनेछ।
दमकको पहिलो सो सकेपछि नेपथ्य नारायणघाटतर्फ लाग्नेछ। माघे संक्रान्तिका दिन नारायणी नदीको किनारमै बेलुकी ६ बजे नेपथ्यको कन्सर्ट सुरुहुनेछ। स्थानीय ‘दाताज इभेन्ट म्यानेजमेन्ट’ले कन्सर्ट आयोजनाको जिम्मा लिएकोछ।
नारायणीको बलौटे किनारमा नेपाली लोक रक सुनाएपछि ब्यान्डको अर्को प्रस्तुति भैरहवामा हुनेछ।
पक्लिहवा हाइस्कुलमा माघ ४ अर्थात् सोनाम ल्होसारको साँझ ६ बजेदेखि नेपथ्यले आफ्नो प्रस्तुति पस्किनेछ।
नेपथ्य २५औं वर्षमा हिँडिरहँदा मुलुकका विभिन्न ठाउँका दर्शकसँग जोडिन पाउनु खुसीको कुरा भएको नेपथ्यका मुख्य गायक अमृत गुरुङले बताए।
‘हामीले काठमाडौंभित्र वा वाहिर जता कन्सर्ट गर्दा पनि प्राविधिक हिसाबले दर्शक र श्रोतालाई एकरुपता दिँदै आएका थियौं,’ नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपटक पनि कलाकार र प्राविधिकसहितको भ्रमणदलदेखि लिएर अत्याधुनिक साउन्ड सिस्टमसहितको यात्रायी तीन सहरमा गर्नेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।