काठमाडौं- पुस २१ देखि देशव्यापी प्रदर्शन सुरु गरेको 'राज्जा रानी' नेपाली र मैथिली भर्सनमा भव्य प्रदर्शन भइरहेको छ। यसैबीच सिनेमाको मैथिली भर्सनको निर्माण पक्ष भोर कम्पनीले राज्जा रानी मैथिली सिनेमाको पूरै मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा गरेको छ।
भोर कम्पनी प्रालिका सिइओ राजकुमार महतोले भने, 'हामीले यो सिनेमा मैथिली भाषामा ल्याउनुको पछाडि समाज र राष्ट्रको सेवा गर्नु थियो, न कि फिल्मबाट भएको नाफा आफ्नो व्यक्तिगत कार्यमा प्रयोग गर्ने। यो सोच फिल्मसित जोडिने बेलामै आएको थियो, अहिले सार्वजनिक गरेका हौं।'
उनले फिल्म राज्जा रानीले मधेशमा रहेको बाल विवाह र दाइजो प्रथा विरुद्धको अभियानलाई सशक्त रुपमा साथ दिएको बताएका छन्।
राज्जा रानी मैथिली सिनेमा खासगरी मोरङदेखि पर्सासम्म २० भन्दा बढी सिनेमा हलमा प्रदर्शन भइरहेको छ। साथै, सिनिमाले राम्रो कमाइ पनि गरिरहेको निर्माण पक्षले जनाएको छ। महतोले सिनेमालाई छिटै भारतका बिहार, झारखण्ड र उत्तर प्रदेशमा पनि लगिने जनाए।
त्यसैगरी, राज्जा रानीको कतार, मलेसिया, दुबई, अमेरिका, बेलायत, स्विटजरलैन्ड, अस्ट्रेलिया, जर्मनी, नर्वे लगायतका देशमा पनि प्रर्दशनको तयारी भइरहेको महतोले जानकारी दिए।
'यसरी, विभिन्न माध्यमबाट राज्जा रानी मैथिली सिनेमा चलाएर आर्जन हुने मुनाफा बालविवाह एवं दाइजो उन्मुलन राष्ट्रिय अभियान, मोरडदेखि पर्सा सम्मका १० जिल्लाका अति विपन्न परिवारका बालिकाको शिक्षा, वीरगन्जदेखि विराटनगर सम्मका करिडोरमा मिथिला पर्यटन प्याकेज तयार, प्रर्वद्धन र सुदृढीकरणमा खर्च गर्ने योजना छ,' निर्माता महतोले भनेका छन्।
फिल्ममा नायक नाजिर हुसेन राज्जा र नायिका केकी अधिकारी रानीको भूमिकामा छन्। आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिको ब्यानरमा निर्मित तथा यम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन बाँकेमा गरिएको हो। प्रेमकथामा आधारित राज्जा रानीलाई रमेश एमके पौडेल र राज कुमार महतोले निर्माण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।