धनगढी– संकटा क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ। धनगढी रंगशालामा आइतबार धरान फुटवल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै संकटा अन्तिम आठमा पुगेको हो।
पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने मौका पुमाउँदा धरान पहिलो खेलबाटै घर फर्कन बाध्य भयो। २६ मिनेटमा धरानले पाएको पेनाल्टी खेर फालेको थियो। धरानका प्रकाश बुढाथोकीको पेनाल्टी प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले विफल पारे।
सुरुमा ५/५ जनाको प्रहारमा दुवै टिमले ३/३ गोल गरेपछि थप भएका २/२ वटा पेनाल्टी प्रहारमा संकटाले दुवैलाई गोलमा परिणत गर्यो भने धरानले एक प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाए। दुई गोल रोकेर टिमलाई जिताएका उनी म्यान अफ द म्याच भए। उनले नगद १० हजार रुपैयाँ हात पारे।
पेनाल्टी सुउआउटमा संकटाका अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सुजित थापा र अभिशेक रिजालले गोल गर्दा सुसिल लामा र भुष सुब्बाको प्रहार धरानका गोलरक्षक रोशन खड्काले बचाए। धरानका लागि वर्तमान राई, रोमन लिम्बु, सुरज विक, प्रकाश बुढाथोकीले पेनाल्टी प्रहारलाई गोल गर्दा सन्जय राई र रोशन खड्काको प्रहारलाई संकटाका गोलरक्षक विजय श्रेष्ठले बचाए भने सुवोध शाहीको प्रहार आउट भयो।
जितपछि प्रतिक्रिया दिदै संकटाका प्रशिक्षक सल्यान खड्गीले पहिलो हाफमा आफ्नो टिम दबावमा रहेको र लामो यात्रा गर्दा खेल्न केही समस्या भएपनि दोस्रो हाफमा राम्रो खेल्न सकेका कारण जितेको बताए । धरानका प्रशिक्षक अशोक राईले सोचे अनुसारकै खेलेको र मैदानको बारेमा जानकारी नभएकोले नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए।
प्रतियोगिताअन्तर्गत सोमबार थ्री स्टार क्लब र झापा ११ वीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।