काठमाडौं– राखेप च्याम्पियनसिप अन्तर्गत भइरहेको राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सुपर लिगमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ४–१ गोलले पराजित गरेको छ। अर्को खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सुदूरपश्चिमाञ्चललाई ९–० गोलले हरायो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीको लागि कप्तान कृष्णा खत्री र अञ्जली वाइबाले २–२ गोल गरे। वाइबाले खेलको २० मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्। ९ मिनेटपछि पुलिसकी कप्तान घिमकुमारी गुरुङले फ्रिकिकमार्फत बराबरी गोल फर्काइन।
५७ मिनेटमा वाइवाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मी २–१ ले अघि बढ्यो। कप्तान खत्रिले ७० र ७५ मिनेटमा गोल गरेपछि आर्मी जिततर्फ अघि बढेको थियो।
सुदूरपश्चिमाथि सहज जित निकाल्ने क्रममा एपिएफकी सावित्रा भण्डारीले डलब ह्याट्रिक गरिन्। उनले खेलको १८, ४९, ७३, ७६, ८४ र ९० मिनेटमा गोल गरिन्। एपिएका लागि अनिता बस्नेतले ५६ र ६० मिनेटमा गरी २ गोल गर्दा रेखा पौडेलले ९०+३ मिनेटमा १ गोल थपिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।