काठमाडौं– पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भाग नेपाली टिम पाकिस्तान पुगेको छ। सोमबारदेखि सुरु हुने प्रतियोगिताका लागि नेपाली टिम रेल र बसमा कष्टपूर्ण यात्रा गर्दै शुक्रबार पाकिस्तान पुगेको थियो।
आर्थिक अभावका कारण स्थलमार्गबाट पाकिस्तान जानु परेको समाचार सार्वजनिक भएपछि क्रिकेटप्रेमीहरुले नेपाली टिमलाई सहयोग गर्न अभियान चलाइरहेका छन्। नेपाली क्रिकेट समर्थक समाजको अगुवाइमा आर्थिक संकलन अभियान भइरहेको छ। जहाँ सिनियर टिमका कप्तान पारस खड्का लगायत राष्ट्रिय क्रिकेटरले सहयोग गरेका छन्। क्रिकेट समर्थकले पनि अभियानमा सक्रिय सहभागिता जनाएका छन्।
'नेत्रहीन विश्वकपमा नेपाली खेलाडीले निकै दु:ख र कष्टका साथ बस–रेल हुँदै ४ दिन लगाएर पाकिस्तान पुग्दै गरेको खबरले क्रिकेट समर्थकको रुपमा निकै दु:ख लाग्यो,' समर्थक समाजका अध्यक्ष भानु सिग्देलले नेपाल लाइभसँग भने, 'विश्वकप खेल्ने खेलाडी, त्यसमाथि दृष्टबिहीन। समर्थकको तर्फबाट सहयोग गर्न जरुरी लागेर यो अभियान सुरु गरिएको हो। बस र रेलहुँदै गएका खेलाडीलाई प्लेनमा फर्काउने अभियानको मुल उद्धेश्य हो।'
अहिलेसम्म क-कसले गरे सहयोग ? हेर्नुहोस् लिस्ट ।
अभियानमार्तफ अहिलेसम्म २ लाख १२ हजार रुपैयाँ भन्दा बढी संकलन भइसकेको छ। अभियानमा सहभागी हुन चाहनेहरुले ग्लोबल आइएमइ बैंक बसुन्धरा शाखामा रहेको खाता नम्बर 0801010001587 मा रकम जम्मा गर्न सक्नेछन्। यस्तै इसेवा मार्फत सहयोग गर्न चाहानेले ९८४११६३२६० र आइएमइमार्फत रकम पठाउन चाहानेले प्रमोद बज्राचार्यको नाममा पठाउन सक्ने अध्यक्ष सिग्देलले जानकारी दिए।
पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा पहिलोपटक सहभागिता जनाउँदै लागेको हो। यसअघिका भएका ४ संस्करणमा पनि नेपालले आर्थिक अभावका कारण सहभागिता जनाउन पाएको थिएन। सोमबार सुरु हुने विश्वकप पाकिस्तान र दुबईले संयुक्त रुपमा आयोजना गर्दै छ।
सोमबार हुने उद्घाटन खेलमा पाकिस्तान र बंगलादेश भिड्दैछन्। नेपालको पहिलो खेल मंगलबार पाकिस्तानसँग हुनेछ। नेपालको दोस्रो खेल बुधबार बंगलादेशसँग छ। त्यसपछि दुबइ प्रस्थान गर्ने नेपालले २९ पुसमा श्रीलंकासँग, १ मा भारतसँग र २ माघमा अस्ट्रेलियासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।