एजेन्सी– ‘चारा घोटाला’ प्रकरणमा साढे ३ वर्षको जेल सजाय तोकिएका लालूप्रसाद यादवले जेलमा मालीको काम पाएका छन्।
लालूले आइतबारदेखि नै मालीको काम गर्नेछन्। लालूले जेलमा यही कामको माग गरेका थिए। सो माग जेल प्रशासनले स्वीकार गरेको थियो।
आफ्नो माग पूरा भएसँगै लालूले जेलरलाई भने, ‘अब बगैंचा हराभरा हुनेछ।’
कैदी नम्बर '३३५१'
बिहारका पूर्व मुख्यमन्त्री रहेका लालूले जेल सजाय पाए पनि उनको सुविधामा कुनै कमी हुनेछैन। उनले पाउने सुविधा पहिलेकै रहनेछ। उनले कारागारमा कैदी नम्बर ३३५१ पाएका छन्।
फैसला भएको दिन शनिबार दिउँसो उनले खाना खान अस्वीकार गरेका थिए। राति भने उनले एउटा रोटी, रहरको दाल र मिक्स तरकारी खाएका थिए।
सीबीआइको विशेष अदालतले चारा घोटाला प्रकरणमा लालूप्रसादलाई शनिबार साढे तीन वर्षको सजाय सुनाएको थियो। जेल सजायसँगै उनलाई पाँच लाख भारुको जरिवाना समेत गरिएको थियो।
देवघर कोषागारमा भएको चारा घोटाला काण्डमा लालूलाई गत २३ डिसेम्बरमा दोषी ठहर गरिएको थियो। लालुसहित यस घटनामा १५ जनालाई दोषी ठहर गरिएको थियो, जसमा ६ जनालाई ७ वर्षको र लालूलाई भने साढे तीन वर्षको जेल सजाय सुनाइएको थियो।
सन् १९९१ देखि ९४ को बीचमा भएको चारा घोटाला प्रकरणमा करिब साढे ८४ लाख रुपैयाँ अनियमितता भएको थियो। सो प्रकरणमा २२ जनालाई अभियुक्तको रुपमा पेश गरिएको थियो। जसमध्ये बिहारका पूर्व मुख्यमन्त्री डा जगन्नाथ मिश्रसहित ६ जनाले भने अदालतबाट सफाइ पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।