एजेन्सी– साउदी अरेबियाको राजदरबारअगाडि विरोध प्रदर्शन गर्ने ११ राजकुमार पक्राउ परेका छन्।
ती राजकुमारहरू आफ्नो बिजुली र पानीका बिलको भुक्तानी सरकारले नगरेकोमा विरोध प्रदर्शन गरिरहेका थिए । पक्राउ परेका राजकुमारको नाम सार्वजनिक भने गरिएको छैन।
साउदी अरेबियाको सरकारले राजपरिवारका आफन्तले अब बिजुली र पानी लगायतको बिलको भुक्तानी आफैंले गर्नुपर्ने निर्णय गरेको छ। सरकारले सार्वजनिक खर्च कटौती गर्नुका साथै अनुदान समेत बन्द गरेको छ।
साउदी अरेबियाले नयाँ वर्षदेखि देशभर पेट्रोलियम उत्पादनको मूल्य दोब्बर पारेको छ। यसका साथै ५ प्रतिशत वस्तु र सेवा कर लगाउन थालेको छ।
राजकुमारहरूले गरेको विरोध प्रदर्शनको समाचार सबैभन्दा पहिले साउदीको एउटा वेबसाइटले सम्प्रेषण गरेको थियो। बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार साउदी अरेबियाका महान्यायाधिवक्ताले राजकुमारहरू पक्राउको पुष्टि गरेका छन्।
सन् २०१७ नोभेम्बरमा त्यहाँ भ्रष्टाचारको आरोपमा दर्जनौं राजकुमारलाई पक्राउ गरिएको थियो। तीमध्ये केही राजकुमार तत्कालीन मन्त्री थिए।
साउदी अरेबियाको राजपरिवारमा सयौं राजकुमार छन्। उनीहरूलाई सरकारले मासिक भत्ता दिने गरेको छ। तर पनि धनसम्पत्ति र सामाजिक प्रतिष्ठाका मामिलामा धेरै असमानता र विभेद छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।