काठमाडौं- सार्वजनिक महत्वको विषयमा प्रतिनिधिसभामा जवाफ दिन उपस्थित भएका गृहमन्त्रीलाई सांसदहरुले प्रश्नमाथि प्रश्न तेर्स्याएका छन्।
सांसदहरुका अधिकांश प्रश्न कुमार पौडेल र सरोज यादवको हत्याको विषयमा केन्द्रित थिए। कुमार पौडेलको भिडन्तमा मारिएको भन्दै गृहमन्त्री रामबहादुर थापाले गरेको बचाउको विरुद्धमा सांसदहरुले प्रश्न तेर्स्याउँदै स्पष्ट जवाफ माग गरेका छन्।
गृहमन्त्री थापाले सप्तरी प्रकरणमा हवाई फायर हुदाँ मृत्यु भएको भनेपछि सांसदहरुले त्यसको पनि आलोचना गरेका छन्।
कसको के प्रश्न?
भरतकुमार शाहः गृहमन्त्रीले दिएको जवाफ चित्त बुझेन। मृतकको हात भाँचिएको छ, अनि कसरी दोहोरो भिडन्त भयो?
देवन्द्रराज कँडेलः कसरी हात भाँचिएको मान्छेले दोहोरो भिडन्तमा भाग लिन सक्छ? उनलाई यातना दिएको प्रष्ट देखिँदासमेत किन गृहमन्त्रीको जवाफ यस्तो आयो?
प्रमोद साहः राज्यको कुर्सीमा बसेपछि कस्तो जवाफ आउँछ भन्ने अहिले बुझेँ। घटनास्थल र खोलाबीचको दूरी ७ किलोमिटर भन्नु भयो, म त्यही क्षेत्रको हुँ, २ किलोमिटर मात्र छ। अवैध ५ क्रसरले खनेको कुवा हो, त्यहाँ कसरी बालक पस्यो?
डिला संग्रौलाः गृह मन्त्रालयको जवाफ झुटको पुलिन्दा जस्तो लाग्यो। जनताले न्यायको लागि आन्दोलन गर्दा प्रहरीले सरोज यादवलाई हत्या गरियो, त्यसको जवाफ दिनुपर्दछ।
मिनबहादुर विश्वकर्माः कानुनमा हत्याको छानबिन गर्न हत्यारालाई नै दिएपछि मर्ने दोषी हुन्छ। अहिले कुमार पौडेल नै दोषी भएका छन्। सरकार भ्रष्टाचार गरिरहेको छ।
राजकिसोर यादवः गृहमन्त्रीको भनाइ बनिबनाउ र कर्मचारीले लेखेर दिएको प्रष्ट छ। हवाई फायर भएको भन्नुभएको छ, सरोज यादवको निधारमा गोली कसरी लाग्यो? हावामा हानेको गोलीले छानेर निधारमा पुगेको हो? न्यायीक छानबिन हुनुपर्दछ। माफियाहरुको कुवामा बालक डुबेर मरेको हो।
प्रेम सुवालः सरकारको कामकारबाहीबारे शान्तिपूर्ण रुपमा जनताले असहमति जनाउनेलाई किन दबाब बढिरहेको छ? सरकारको छातामा आएको गुन्डा नहुने र अन्यले गुन्डा भनेर ज्यान गुमाउनु पर्ने कहिलेसम्म हो?
गगन थापाः संसद्ले बनाएको कानुन किन तपाईं गृहमन्त्री भएपछि किन उल्टो भयो? थारु मधेशी र दलितमाथि किन दमन हुँदैछ? यो क्षमताको अभाव हो वा के हो?
मिना पाण्डेः कुमार पौडेलको हत्याको सिलसिलामा दिएको जवाफ मिलेन। इन्काउनटरमा मारेको भए दाँतसमेत झरेको कसरी हुन्छ। सफेद झुट किन? यसको जवाफ चाहियो।
दिलेन्द्र बडुः इन्काउन्टर सम्झिँदा 'बुढी मरी भन्दा काल पल्केको डर' भयो। गिरफ्तारपछि मार्न थालियो भने कानुन के हुन्छ? संसदीय छानबिन समिति बनाउन सरकार तयार छ? (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।