काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल दोहोरो भिडन्तमै मारिएको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री थापाले सो कुरा बताएका हुन्।
सर्लाहीमा चन्दा आतंक फैलाएको, स्थानीय जनप्रतिनिलाई राजीनामा दिन धम्की दिएको, भौतिक पूर्वाधारहरु क्षति गर्ने गरेको लगायतका काम विप्लव समूहले गरिरहेकाले प्रहरी निगरानी बढाएको उनको भनाइ थियो। त्यही क्रममा प्रहरीसँग जम्काभेट हुँदा प्रहरीलाई लक्षित गरेर गोली चलाएर भाग्ने क्रममा प्रहरीको गोली लागेर पौडेलको मृत्यु भएको गृहमन्त्री थापाले बताए। गृह मन्त्रालयले बनाएको छानबिन समितिको प्रतिवेदन अनुसार पनि पौडल मुठभेडमै मारिएको निष्कर्ष आएको गृहमन्त्रीको दाबी छ।
त्यस्तै सर्लाहीमै गत असार १५ गते नगरपालिकाले खनेको खाल्डोमा जमेको पानीमा परेर बालक अमित रायको मृत्यु प्रकरणमा भएको प्रहरीको दमनका बारेमा पनि गृहमन्त्री थापाले प्रतिनिधिसभामा जवाफ दिएका छन्। बालकको मृत्यु प्रकरणलाई लिएर ईश्वरसुर नगरपालिका–१२ बाँके जंगलको पूर्वपश्चिम राजमार्गमा सडकमा टेन्ट लगाएर प्रर्दशन गर्दै स्थानीयले सडक अवरोध गरेकाले अवरोध हटाउने बेला झडप भएको मन्त्री थापाले बताए। प्रदर्शनकारीको प्रहार गरेको ढुंगामुढाबाट ११ प्रहरी र ६ सशस्त्र प्रहरी गरी १७ जना घाइते भएका थिए।
स्थिति नियन्त्रण लिने क्रममा प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। सोही क्रममा २८ वर्षीय सरोजनारायण सिंह यादवको मृत्यु भएको मन्त्री थापाले बताए।
बालक रायको परिवारलाई काजकिरिया खर्च बापत २५ हजार र राहत स्वरुप ५ लाख दिइएको उनले बताए। त्यस्तै अन्य घाइतेको सरकारले नि:शुल्क उपचार गर्ने र मृतक यादवलाई समेत क्षतिपूर्ति दिने सम्बन्धमा छलफल भएको गृहमन्त्री थापाको जवाफ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।